काठमाडौं-नेकपा (एमाले) ले आगामी मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। राष्ट्रिय कार्यकर्ता भेला र स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेलापछि बस्ने गरी पार्टीले केन्द्रीय कमिटी बैठकको मिति तय गरेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले २०८३ मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिए। बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक गतिविधि र भावी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। काठमाडौंको कार्की ब्यांक्वेटमा हुने भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधि सहभागी हुँदैछन्।
महासचिव शंकर पोखरेलका अनुसार राष्ट्रिय भेला मुख्यतः आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनेछ।
राष्ट्रिय कार्यकर्ता भेलालगत्तै मंसिर ४ गते एमालेले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गर्ने कार्यक्रम तय गरेको छ। एकदिने उक्त भेलामा २०७८ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रवक्ता आचार्यका अनुसार जनप्रतिनिधिको भेला बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।
यसअघि एमालेको केन्द्रीय कमिटी बैठक गत असोज ५ देखि ८ गतेसम्म बसेको थियो। उक्त बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवाद तत्काल समाधान नगरी राष्ट्रिय कार्यकर्ता भेलामार्फत निकास खोज्ने निर्णय गरेको थियो।
राष्ट्रिय भेला, जनप्रतिनिधिको भेला र त्यसलगत्तै बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई एमालेले संगठनात्मक एकता सुदृढ गर्ने तथा आगामी निर्वाचनको तयारी अघि बढाउने महत्वपूर्ण राजनीतिक प्रक्रियाका रूपमा लिएको छ।



प्रतिक्रिया