अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय भेलाको तयारीबारे एमालेले सोमबार पत्रकार सम्मेलन गर्ने

राष्ट्रिय भेलाको तयारीबारे एमालेले सोमबार पत्रकार सम्मेलन गर्ने

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला


काठमाडौं-नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पत्रकार सम्मेलन कात्तिक ३० गते सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुनेछ। पत्रकार सम्मेलनमार्फत भेलाको तयारी, सहभागिता तथा कार्यक्रमका विषयमा जानकारी गराइनेछ।

आचार्यका अनुसार काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने राष्ट्रिय भेलामा देश तथा विदेशबाट गरी ३ हजार १६४ जना प्रतिनिधि सहभागी हुनेछन्। भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि सहभागी हुनेछन्।

त्यस्तै, जिल्ला तहबाट ४४० जना, पालिका कमिटीबाट १ हजार ५०६ जना, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभाबाट १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। भेलामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले छुट्टाछुट्टै लिखित दस्ताबेज प्रस्तुत गर्नेछन्।

एमालेले राष्ट्रिय भेलामार्फत पार्टीको संगठनात्मक एकता सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने उद्देश्य राखेको जनाएको छ।

भेलामा सहभागी प्रतिनिधिहरूका लागि उद्घाटनका दिन दिउँसो खाजा तथा मंसिर ३ गते बिहान खाजासहित दिउँसो खानाको व्यवस्था पार्टीले गर्नेछ। सहभागी नेता तथा कार्यकर्ताले आफ्नो बसोबास र आवतजावतको खर्च भने आफैँ बेहोर्नुपर्ने व्यवस्था गरिएको एमालेले जनाएको छ।