अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संक्रमितको पहिचान गर्न नै गाह्रो छ : गाउँपालिका अध्यक्ष मल्ल

संक्रमितको पहिचान गर्न नै गाह्रो छ : गाउँपालिका अध्यक्ष मल्ल


काठमाडौं- सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका पनि कोभिडको चपेटामा परेको छ ।

दुर्गम हिमाली गाउँमा गरिएको परीक्षणमा एकै पटक स्वास्थ्यकर्मीसहित गाउँपालिकाका १३ जना कर्मचारी संक्रमित भए । ठूलो संख्यामा स्वास्थ्यकर्मीसहित गाउँपालिकाका कर्मचारी संक्रमणमा परेपछि गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ललाई चिन्ता थपिएको छ ।

‘चिन्ता त परेको छ, चिन्ता गरेर पनि के गर्नु ? हामी अगुवा नै डराएपछि जनताले कसको भरोसा गर्ने ? त्यसैले रोगसँग लड्ने तयारीमा जुटेका छौँ’, गाउँपालिका अध्यक्ष मल्लले भन्नुभयो ।

‘कोभिडको अवस्था जटिल नै छ, पीसीआर जाँच्नलाई नजिकै ठाउँ छैन, यहाँबाट दुई दिन टाढा धनगढी, नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्छ,  त्यसैले संक्रमितको पहिचान गर्न नै हामीलाई गाह्रो छ’

कसरी लड्दै हुनुहुन्छ त ? जवाफमा उहाँ भन्नुहुन्छ, ‘गत साल नै २५ बेडको कोभिड अस्पताल बनाएका थियौँ, अहिले बिरामीलाई त्यहीँ राखेर उपचार गरिरहेका छौँ, गाउँपालिकाबाट निर्णय गरेर गाउँपालिका पूर्णरूपमा बन्द गरेका छौँ, होटल पसल बन्द गर्न लगाएका छौँ, शैक्षिक संस्था बन्द गरिसकेका छौँ, बैठक, जमघट, भेला बन्द गरेका छौँ ।’

कोभिड संक्रमितको परीक्षणको लागि भने हिमाली गाउँपालिकालाई संकट छ । ‘कोभिडको अवस्था जटिल नै छ, पीसीआर जाँच्नलाई नजिकै ठाउँ छैन, यहाँबाट दुई दिन टाढा धनगढी, नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्छ’, त्यसैले संक्रमितको पहिचान गर्न नै हामीलाई गाह्रो छ’, उहाँले भन्नुभयो ।

स्वाब परीक्षणको विकल्प एन्टिजेन परीक्षण हो । ‘त्यो भयो भने यहीँ जाँच गर्न सकिन्थ्यो, किड्स भएदेखि संक्रमितको पहिचान गर्न सहज हुने थियो, त्यसैले एन्टिजेनको किड्को लागि प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्दछु’, मल्लले भन्नुभयो ।

हिमाली गाउँपालिकालाई कोभिडको दोस्रो लहरको सुरुमै संकट पारेको छ । संक्रमण देखिएका सबै गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी छन् । त्यसैले गउँपालिकाको नियमित काम र स्वास्थ्य सेवामा नै समस्या परेको छ ।

‘बिरामी जाँच्ने मान्छे समेत छैन, दुई जना अनमी बाहेक सबैलाई समस्या देखियो, संक्रमित मध्ये आठ जना त स्वास्थ्यकर्मी नै छन्, गाउँपालिकाको तर्फबाट एक जना ल्याब टेक्निसियन राखेका थियौँ, उहाँलाई पनि संक्रमण देखिएपछि ल्याबको काम समेत रोकिएको छ, स्वास्थ्य संयोजकलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ, उहाँमा पनि समस्या देखियो, प्राविधिकलाई पनि देखियो’, उहाँले भन्नुभयो ।

हिमाली गाउँपालिकामा संक्रमण समुदायमा नै छिरिसकेको अध्यक्ष मल्लको अनुमान छ । मल्लले भन्नुभयो, ‘स्वास्थ्यकर्मीमा देखिएकोले उहाँहरूको सम्पर्कमा आएका बिरामी, गर्भवती, सुत्केरी बालबालिकामा समेत संक्रमण सरेको हुनसक्छ ।’

गाउँ बस्ती काहीँ बाँकी छ भन्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ । ‘शिक्षाको निरीक्षकलाई देखियो, कृषिको प्रमुखलाई देखिएको छ, स्वास्थ्यका कर्मचारीसहित स्वास्थ्यकर्मीलाई देखियो, प्राविधिकलाई देखिएको छ, हामी जनप्रतिनिधिलाई पनि हुनसक्छ, हाम्रो साथमा दैनिक सयौँ मानिस सम्पर्कमा आउँछन्, अब कसलाई छैन भन्नु ? त्यसैले परीक्षणको दायरा बढाउनु पर्ने छ’, उहाँले भन्नुभयो ।

अहिले हिमाली गाउँपालिकाको समस्या भनेको परीक्षण गर्ने एन्टिजेन किट र अक्सिजनको छ । गाउँपालिकाले बनाएको आइसोलेसनमा पर्याप्त अक्सिजनका सिलिण्डर छैनन् । ‘कतिबेला के हुन्छ, कतिमा संक्रमण देखिन्छ भन्नै नसक्ने अवस्था छ, मानिस बिरामी भइहाले पनि बाहिर उपचारको लागि लैजान गाह्रो छ, त्यसैले यहाँ अक्सिजनको थप व्यवस्था गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।

नीति बनाउँदा काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी जस्ता सहरलाई हेरर बनाएर नहुने उहाँको भनाइ छ । ‘हाम्रो जस्तो दुर्गम गाउँलाई छुट्टै नीति बन्नु पर्‍यो, दुर्गमका मानिसलाई धेरै गाह्रो छ’, उहाँले दुर्गमको समस्या सुनाउनुभयो ।

स्थिति भयावह भएपनि आत्तिएर नहुने मल्ल बताउनुहुन्छ । ‘हामीलाई हावा पानीले पनि केही साथ दिएको छ, खुल्ला ठाउँ छ, नागरिकले पनि साथ दिए भने यसलाई पार लगाउन सकिन्छ भन्नेमा छौँ’, उहाँले हिम्मतका साथ भन्नुभयो ।