अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सप्तरीका सबै स्थानीय तह बन्द

आज सप्तरीका सबै स्थानीय तह बन्द


सप्तरी- सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकी, फत्तेपुर मोडल पोलिक्लिनिक हुँदै उपचारका लागि चौधरीलाई विराटनगर लगिएको थियो । सात महिनाकी गर्भवतीसमेत रहनुभएकी चौधरीको विराटनगरस्थित विराट नर्सिङहोम अस्पतालमा मङ्गलबार मृत्यु भएको हो ।

तीन दिनअघि गर्भमा रहेको शिशुलाई मृतावस्थामा निकालिएको थियो । आइसीयूमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् ।-रासस