अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा फिनल्याण्ड र रुस भिड्ने

युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा फिनल्याण्ड र रुस भिड्ने


काठमाडौं  : युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक-एक खेल खेलिसकेका छन् ।

म्याच डे वानका खेलहरु सकिएपछि अब बुधबारबाट म्याच डे टु का खेलहरु हुनेछन् । जस अन्तर्गत आज पहिलो खेल समूह बी मा रहेका फिनल्याण्ड र रुसबीच हुनेछ ।

फिनल्याण्डले यसै संस्करणमार्फत युरोकपमा डेब्यु गरेको हो । पहिलो खेलमा डेनमार्कलाई १-० गोलले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरिसकेको छ । रुस भने पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको थियो ।

फिनल्याण्ड लयलाई निरन्ता दिने योजनामा छ भने रुस पहिलो जितको खोजीमा छ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यस्तै राति ९ः४५ बजे हुने खेलमा समूह ए मा रहेका वेल्स र टर्की भिड्दैछन् । टर्की उद्घाटन खेलमा इटलीसँग ३-० ले पराजित भएको थियो भने वेल्सले स्वीट्जरल्याण्ड्सँग १-१ को बराबरी खेलेको थियो । दुवै टिम पहिलो जितको खोजीमा हुनेछ । यो खेल अजरबैजानको बाकुमा हुनेछ ।

समूह ए मै रहेका इटली र स्वीट्जरल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । खेल इटलीको घरेलु मैदान रोममा हुनेछ ।