अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फिदिम नगरपालिकाको वित्तीय प्रगति ७७ प्रतिशत

फिदिम नगरपालिकाको वित्तीय प्रगति ७७ प्रतिशत

रासस
0
Shares

पाँचथर– जिल्लाको फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको समीक्षात्मक प्रतिवेदनअनुसार पुँजीगत खर्च अपेक्षित हुन नसक्दा वित्तीय प्रगति ७७ प्रतिशतमा सीमित भएको हो । गत आवमा नगरपालिकामा चालू र पुँजीगततर्फ गरी कूल ९६७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ९०५ वटा सम्पन्न भएका हुन् । स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि रु ९६ करोड ७३ लाख ११ हजार ५०९ बजेट विनियोजन भएकामा रु ७४ करोड ८७ लाख ७३ हजार ५८४ खर्च भएको हो ।

नगरपालिकामा चालूतर्फ ३४३ योजना तथा कार्यक्रममा रु १६ करोड ५३ लाख ६० हजार बजेट स्वीकृत भएको थियो । जसमा ३३० योजना तथा कार्यक्रम पूरा हुँदा रु ११ करोड ७५ लाख ४० हजार खर्च भएको छ । चालूतर्फका योजना र कार्यक्रममा ९६ प्रतिशत भौतिक प्रगति र ७१ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगर प्रमुख ओनाहाङ नेम्वाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जारी गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पुँजीगततर्फ ६२४ योजना तथा कार्यक्रममा रु ८० करोड १९ लाख ५१ हजार बजेट स्वीकृत भएको थियो । जसमा ५७५ योजना तथा कार्यक्रम सम्पन्न हुँदा रु ६३ करोड १२ लाख २२ हजार खर्च भएको छ । पुँजीगततर्फका योजना र कार्यक्रममा ९२ प्रतिशत भौतिक प्रगति र ७९ प्रतिशत वित्तीय प्रगति भएको प्रतिवेदनमा जनाइएको छ ।
गत आवमा फिदिम नगरपालिकामा सबैभन्दा बढी सामाजिक विकास क्षेत्रका ३६८ योजना तथा कार्यक्रम स्वीकृत भएकामा ३४७ सम्पन्न भएका छन् । सामाजिक क्षेत्रका योजना तथा कार्यक्रममा भौतिक र वित्तीय प्रगति समान ९० प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकासतर्फका २३४ योजना तथा कार्यक्रम स्वीकृत भएकामा २२६ वटा सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार विकासतर्फ फिदिम नगरपालिकाले ९७ प्रतिशत भौतिक प्रगति गरे तापनि वित्तीय प्रगति ५८ प्रतिशतमा सीमित भएको छ । कोभिड–१९ को महामारीका कारण धेरै योजनाको काम शुरु भए पनि सम्पन्न नहुँदा वित्तीय प्रगति निकै कमजोर देखिएको हो । यस्तै आर्थिक विकासतर्फ २१५ योजना तथा कार्यक्रम स्वीकृत भएकामा १९६ वटा सम्पन्न भएका छन् । जसमा भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत हासिल भएको प्रतिवेदनमा जनाइएको छ । सदरमुकामसमेत रहेको जिल्लाको एकमात्रै नगरपालिकाले समेत पूर्वाधार विकासमा यथेष्ट प्रगति हासिल गर्न नसकेको हो । विगत लामो समय तत्कालीन जिल्ला विकास समितिमा काम गर्नुभएका फिदिम नगरपालिकाका इञ्जिनीयर प्रेम काफ्लेका अनुसार पूर्वाधार योजना पूरा गर्न नीतिगत, संरचनागत तथा प्राविधिक जटिलता धेरै हुने गरेका छन् ।

“फिदिम नगरपालिकासँगै भनेजति प्राविधिक जनशक्ति छैनन्”, काफ्लेले भन्नुभयो, “आर्थिक वर्षको बीचमा योजना थप गर्ने कार्यले पूर्वाधारका योजना सञ्चालनमा झनै समस्या आउने गरेको छ ।” प्राविधिकलाई जनप्रतिनिधि, कर्मचारी तथा उपभोक्ताबाट उचित सहयोग प्राप्त नहुने, स्रोतसाधनको अभाव हुनेजस्ता समस्या समेत देखिने गरेका छन् ।