अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा


पोखरा– नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ ।

राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।

नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ । टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छन् ।

टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फुटबल सङ्घले रङ्गशालामा आवश्यक सबै तयारी पूरा गरिएको छ । फुटबल रङ्गशालामा दुवो कटान, मैदान मार्किङलगायतका काम सम्पन्न गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउनुहुनेछ ।

राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिकरुपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको छ । टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ ।

यसअघि गत वर्ष माघमा तीन साता राष्ट्रिय टोलीको पोखरामा बन्द प्रशिक्षण सञ्चालन भएको थियो । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको प्रतियोगिता अघि टोली पोखरा आएको थियो ।