अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोनाहाफाटामा थारू सङ्ग्रहालय स्थापना गरिँदै

सोनाहाफाटामा थारू सङ्ग्रहालय स्थापना गरिँदै


कैलाली- कैलाली जिल्लाको दक्षिणपूर्वमा रहेको भजनी नगरपालिका वडा-८ सोनाहाफाटामा थारू सङ्ग्रहलय स्थापना गरिने भएको छ ।

सोनाहाफाटा गाउँको चारैतिर पर्यटकीय गन्तव्य छन् । टीकापुर र भजनी नगरपालिकाको बीचमा पर्ने हुलाकी राजमार्गसँग जोडिएको सो क्षेत्रमा थारू जातिको पहिचानसँग जोडिएका वस्तुहरुलाई प्रदर्शन गर्ने उद्देश्यका साथ थारू सङ्ग्रहालयको स्थापना गरिन लागेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुङ्गानाले जानकारीदिनुभयो छ । “एकपछि अर्को पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । यो सुखद पक्ष हो,” उहाँले भन्नुभयो, “अब यस क्षेत्रमा सरकारको लगानी हुन आवश्यक छ । सरकारले संरचनाहरुको विकासका लागि काम गर्नसके पर्यटकहरूका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्थ्यो ।”

पर्यटकहरुका लागि महत्वपूर्ण रहेको सोही क्षेत्रमा पर्ने बिपी निकुञ्ज, पदमप्रकाश्वेर महादेव मन्दिर, सत्ती कर्णाली सामुदायिक वन, डल्फिन क्षेत्र, त्रिवेणी धार्मिक क्षेत्र, तालतलैयाहरुको अवलोकनका लागि आएका पर्यटकहरुलाई थारूहरुको पहिचानलाई समेत झल्काउने गरी थारू सङ्ग्रहालयको स्थापना गरिने जनाउँदै सोनाफाटा गाउँलाई पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बनाउन थारू सांस्कृतिक सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने संग्रहालयकी अध्यक्ष कृष्णा चौधरीले बताउनुभयो । उहाँका अनुसार सङ्ग्रहालयमा थारूकला संस्कृति, पोसाक, खानपिन, जीवनशैली लोप र आधुनिकतातर्फ परिवर्तन हुँदै गएकाले थारू संस्कृति जगेर्ना गर्न, ऐतिहासिक थारू रीतिरिवाज पहिचानलाई जीवन्त राख्न थारू सङ्ग्रहालयको स्थापना गरिने छ ।

“हाम्रा थुप्रै परम्परा र चालचलनहरु नयाँ पुस्ताले बिर्संदै गएको अवस्थामा त्यसलाई जगेर्ना गर्नकै लागि भए पनि थारू सङ्ग्रहालयको स्थापना गरिन लागेको हो ।”सङ्ग्रहालयका सल्लाहकार संयोजक रमैया डगौराले भन्नुभयो, “यसले एकातिर हाम्रो पहिचानलाई जोगाउन सकिन्छ भने अर्कोतिर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके आम्दानीको स्रोत पनि बढ्छ ।” उहाँले डल्फिन क्षेत्रलगायत थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुसँग जोडिएको कारणले पनि भोलिको दिनमा थारू सङ्ग्रहालय पर्यटकहरूका लागि महत्वपूर्ण बन्ने जानकारीदिनुभयो ।

सङ्ग्रहालयमा थारू जातिको रहनसन, सांस्कृतिक झल्किने सामग्री, पोसाक, पुरानो जमानामा थारूको दैनिक जीवनसँग प्रयोग हुने वस्तु, गरगहना जस्ता विस्थापित हुँदै जान लागेका सामग्री तयारी र व्यवस्थापन गर्न प्रत्येक थारू घरघरबाट सामग्री सङ्कलन गरी यसलाई सङ्ग्रहालयका रुपमा व्यवस्थापन गरिने समितिका सचिव फाकुराम चौधरीले जानकारीदिनुभयो । “हाम्रो कला संस्कृतिहरु दिनदिनै हराउँदै गएको अवस्था छ । पुस्ता परिवर्तनसँगै पुराना कुराहरूको जगेर्ना गर्नेतर्फ अहिलेको पुस्ता सक्रिय देखिएको छैन ।” उहाँले भन्नुभयो, “इतिहासलाई त मेटिन दिनु भएन । भोलिका दिनमा आफ्नो इतिहास खोज्ने समय आएको बेलामा पनि सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

सङ्ग्रहालयको व्यवस्थापनका लागि अहिले समुदायबाट मात्रै पहल सुरु गरिएको जनाउँदै पालिका, प्रदेश , सङ्घीय सरकार र सङ्घसंस्थालाई अनुरोध तथा पहल गर्ने सङ्ग्रहालयका सहसचिव राजकुमार चौधरीले जानकारी दिनुभयो ।