अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : उद्घाटन सत्रमा पाँच लाख जनसहभागिता जुटाउने

एमाले महाधिवेशन : उद्घाटन सत्रमा पाँच लाख जनसहभागिता जुटाउने


चितवन – नेकपा (एमाले) को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ । आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरू आउने क्रम सुरु भएको हो ।

आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताउनुभयो ।

महाधिवेशन उद्घाटनमा सहभागी हुन पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको उहाँको भनाइ छ । चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलले बताउनुभयो ।

रावलका अनुसार चितवनका सातवटै स्थानीय तहका ९८ वटा वडा, दुईवटा शाखा कमिटी तथा भ्रातृ संगठनहरूबाट एक लाख मानिस उतार्ने गरी तयारी छ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरूको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरूलाई संयमित हुन उहाँले आग्रह गर्नुभयो ।

जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरिबाट पाँच लाख मानिसहरू नदीकिनारमा उतार्ने बताउनुभयो । महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरू चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।