अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 लमजुङको तारेभीरमा ‘रक क्लाइम्बिङ’

 लमजुङको तारेभीरमा ‘रक क्लाइम्बिङ’


लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चे नजिकैको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को लागि प्रमुख गन्तव्य बनाइने भएको छ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’ को लागि मस्र्याङ्दी गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि दुई वर्षअघि अध्ययन थालेको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइडले दुई वर्षअघिदेखि अध्ययन थालेको उक्त भीर रक क्लाइम्बिङको लागि उपयुक्त रहेको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले समेत निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनायक जय मल्लले दुई वर्षअघि व्यक्तिगत खर्चमा तारेभीरमा अध्ययन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो तारेभीर रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बन्न सक्नेछ ।

उहाँका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन गाइड नेपालमा मात्र ७२ जना रहेका छन् । गण्डकी अल्पाइन क्लबका उपाध्यक्षसमेत रहेका उहाँले विदेशबाट प्राविधिक सामग्री ल्याएर तीनवटा बाटो पहिल्याएको बताउनुभयो । विज्ञ समूहले अध्ययन गर्दै आएको तारेभीरलाई मर्स्याङ्दी गाउँपालिकाले अपनत्व लिएपछि पूर्वाधार संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अन्नपूर्ण पदमार्गको च्याम्चेस्थित तारेभीर रक क्लाइम्बिङको उपयुक्त गन्तव्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो तारे भीरमा रक क्लाइम्बिङमात्रै नभई विभिन्न तालीम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गरिनेछ । अध्यक्ष गुरुङले रक क्लाइम्बिङस्थलको पूर्वाधार निर्माण गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरी व्यवस्थीत रुपमा अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो गाउँपालिकाको च्याम्चे नजिकैको तारेभीरलाई रक क्लाइम्बिङको गन्तव्य बनाउनका लागी मंगलबार स्थानियलाई भेला गरी रक क्लाइम्बिङको अध्ययन र सम्भाव्यताबारे जानकारी गराइएको छ ।

भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणको लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर अघि बढ्ने गरी मस्र्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लबअघि बढेको छ । गण्डकी अल्पाइन क्लबका अध्यक्ष एवं अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरीले साहसिक खेल रक क्लाइम्बिङको लागि च्याम्चेको तारेभीर उत्कृष्ट रहेको बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई लाख खर्च गरी च्याम्चेबाट दुई सय मिटर माथिसम्म ढुंगाको सिँढी निर्माण गरिएको बताउनुभयो । रक क्लाइम्बिङका लागी छनोट गरीएको उक्त थलो समुद्री सतहदेखि एक हजार ५ सय ४० मिटर उचाइमा पर्दछ । च्याम्चे नजिकैको साहसिक पदयात्राका लागि प्रस्तावित तारेभिर च्याम्चेबजारबाट पाँच सय मिटरको दरीमा पर्दछ। उक्त स्थलमा २५ मिटरदेखि १५० मिटर उचाइसम्मको साहसिक खेलको स्थल निर्माण गर्न सकिनेछ ।