अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई


खोटाङ- विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले न्युज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताउनुभएको छ ।

छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा शुक्रबार खोटाङका पत्रकारसँगको छलफलमा अध्यक्ष हुमागाईले हालसम्म सरकारले बजेट भाषणमा न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति ल्याए पनि बजेट व्यवस्था गर्न नसकेको बताउनुभयो ।

अध्यक्ष हुमागाईले पत्रपत्रिकालाई जस्तै कम्तीमा एक जना कर्मचारीलाई मासिक तलव खुवाउन पुग्नेगरी न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउनका लागि बजेट व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो ।

हुमागाईले लोककल्याणकारी विज्ञापनका लागि एफएम/टिभीजस्ता विद्युतीय सञ्चारमाध्यमले १२ पुसभित्र सूचीकरणका लागि आवेदन आह्वान गरिएको जानकारी दिनुभयो । ‘विद्युतीय सञ्चार माध्यमको सूचीकरणका लागि सुचना प्रकाशन गरिएको छ । १२ पुसभित्रमा सूचीकरण गरिसक्नुपर्ने छ,’ हुमागाईले भन्नुभयो, ‘सूचीकरण भइसकेपछि लोककल्याणकारी विज्ञापनका लागि आवेदन दिनुपर्ने छ । त्यो काम भएपछि लोककल्याण विज्ञापन प्रशारणका लागि पठाइने छ ।’

अध्यक्ष हुमागाईले लोककल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रकाशनका सन्दर्भमा विद्यमान कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो । ‘यसका लागि कार्यदल गठन भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘त्यस कार्यदललाई दिइने फिडव्याक संकलनका लागि पनि फिल्डमै अध्ययनमा हिँडेका हौँ ।’