काठमाडौं – काठमाडौंको माइतीघर मण्डला, जहाँ राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन भेला, सभा, र्याली, प्रदर्शन, अनशन बस्ने जस्ता कार्यक्रम हुने गर्छ । तर, पछिल्लो एकसातादेखि आफूलाई कानूनसम्मत अंश दिलाइदिन माग गर्दै टीकाप्रसाद अधिकारी व्यक्तिगत माग राखेर अनशन बसिरहेका छन् ।
चितवनको भरतपुर महानगरपालिका ११ का अधिकारी आफूलाई भाइअंश दिलाइदिन माग गर्दै माइतीघर मण्डलामा एक सातादेखि अनशन बसेका हुन् । कानूनी लडाइँबाट थाकेपछि आफू अनशन बस्नु परेको उहाँ बताउनुहुन्छ ।
पाँच दाजुभाइमध्ये दुईजनाले पैतृक सम्पत्ति अंशबण्डा नगरी जालसाजी गरेर लिएपछि उहाँले कानूनी बाटोमार्फत अंश माग गर्नुभएको थियो । अंशका लागि कानूनी लडाइँमा कमाएको पैसा सकिएपछि उहाँ अनशनमार्फत न्याय खोजेको अधिकारीले बताउनुभयो ।
‘दाजु दिनेशप्रसाद अधिकारीसहितले अंश नदिएपछि कानूनी संघर्ष गरेँ । तर, अंश पाउन सकिनँ । न्याय पाउन मुद्दा लड्दालड्दै भएका सम्पत्ति र कमाइ पनि सकियो,’ उहाँ भन्नुहुन्छ, ‘यसपछि बाध्य भएर यहाँ माइतीघर मण्डलामा आएर अनशन बस्नु परेको छ ।’
अंश नपाउँदा दुःखी बनेका उहाँलाई अझ न्यायालयमा तारेखमा धाउँदा धाउँदा नपाएको न्यायले झनै मन पोलेको बताउनुभयो । उहाँले न्याय सम्पादनको शैली परिवर्तन नभए न्याय पाउन गाह्रो रहेको बताउनुभयो।
‘कानूनको क्षेत्रमा ब्यापक सुधार हुनुपर्ने देखेँ । सधैं तारिखैतारिख बोकाउने अदालतीशैली फेरियोस्,’ उहाँले भन्नुभयो, नत्र हामीले जस्ताले न्याय पाउने आशै नगरे हुन्छ ।’
गरीबका लागि न्याय महंगो र जटिल बनेको उहाँको अनुभव छ । यसैले अहिले अनशनमार्फत आफ्नो अधिकार खोज्न माइतीघरमा बसेको उहाँले बताउनुभयो । आफूले अंश पाउनुपर्ने बताउँदै अधिकारी भन्नुहुन्छ, ‘सत्य नडगोस्, असत्य नटिकोस् ।’
आफूले कानुनसम्मत पाउनुपर्ने अशं नपाएसम्म अब अनशन बसिरहने बताएका टीकाप्रसाद अधिकारीले आफ्नो न्यायको लडाइँमा सहयोग गर्न सबैमा आग्रह पनि गर्नुभयो ।







प्रतिक्रिया