काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
‘सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ,’ आरजुले भन्नुभएको छ ।
उहाँले ग्रामीण महिला विकास तथा एकेता केन्द्र नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान) को संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।
केही दिनदेखि आरजु बतास समूहको सल्लाहकार रहेको भन्दै समाचार आइरहेका थिए । बतास समूहले नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको पाइएपछि प्रधानमन्त्री पत्नी आरजु पनि त्यसमा मुछिनु भएको हो ।







प्रतिक्रिया