अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनका सिडिओले आत्मआलोचना स्वीकारेपछि मिल्यो माछाको मूल्य विवाद

चितवनका सिडिओले आत्मआलोचना स्वीकारेपछि मिल्यो माछाको मूल्य विवाद


चितवन – माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकार्नुभएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गर्नुभएको हो ।

गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताउनुभयो । माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरी माछा राखेको फ्रिजमा सिल गरेका थिए ।

‘दुवै पक्षको वीन–वीन जस्तो भयो । अन्जानमा कमजोरी भएको भनी स्वीकार गर्नुभयो । सबैको अगाडि आत्मालोचना गर्नुभयो’, उहाँले भन्नुभयो । समन्वय र सहकार्यको लागि व्यवसायी र सिडिओ बीच छ बुँदे सहमति पनि भएको छ ।  

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित माछा फार्ममा १८ पुसमा सिडिओकी श्रीमती सरकारी गाडी लिएर माछा किन्न जानुभएको थियो । पोखरीबाट निकालेको माछा सकिएपछि व्यवसायी लुलाराजे सिडिओ पत्नीलाई प्रति केजी रु.३०० रुपैयाँका दरले माछा बिक्री गर्नुभएको थियो ।

केही दिनअघि आफैंले प्रतिकेजी रु.२४० रुपैयाँमा माछा किनेको र लुलाराजले आफ्नी श्रीमतीलाई ठगेको भन्दै सिडिओले व्यवसायीमाथि दुर्व्यवहार गरेका थिए ।