अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर अध्यक्षमा चार जनाको उम्मेदवारी घोषणा

एमाले उदयपुर अध्यक्षमा चार जनाको उम्मेदवारी घोषणा


उदयपुर – नेकपा एमाले उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबी गर्दै चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

गुटबन्दी अन्त्य गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै पार्टी नेतृत्व लागेको भए पनि आकांक्षीहरु बढ्दै जाँदा व्यवस्थापनमा समस्या देखिन थालेको छ । अधिवेशन सुरु नहुँदै आधा दर्जन बढीले अध्यक्षको दाबी गरेको हो । कोही सर्वसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनाबी प्रतिस्पर्धा गरेरै भए पनि नेतृत्वमा पुग्ने होडमा देखिएका छन् ।

केहीले समूह बनाएर उम्मेदवारी घोषणा गरिसकेको हुँदा समग्र परिस्थितिले एमाले उदयपुरमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना कमै रहेको नेता-कार्यकर्ताहरु बताउन थालेका छन् ।

अघिवेशन सुरु हुन अघि नै चार जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान सचिव प्रमेश्वर घिमिरे र सचिवालय सदस्य कुशलबाबु बस्नेतले प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् भने अर्का सचिवालय सदस्य कालु लामाले टेकबहादुर राउतलाई सचिव बनाएर अध्यक्ष उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले आफ्नो उम्मेदावारी घोषणा गरिसकेका छन् । अन्य आकांक्षीहरुमा वर्तमान अध्यक्ष ईश्वरमणि राउत, वर्तमान उपाध्यक्ष बिमल कार्की, दुर्गाकुमार थापा र गोपाल खत्री रहेका छन् ।

राउत, थापा र खत्री सर्वसम्मत पाए मात्र अध्यक्ष बन्ने बताइरहेका छन् । कार्की सर्वसम्मत वा चुनाव कुनै पक्षमा नदेखिए पनि अध्यक्ष हुने वातावरण आफ्नो भागमा पार्ने गरी ‘रिजर्भ’ रहेको उहाँ निकट कार्यकर्ताहरु बताउँछन् ।

परियारले पार्टीलाई दलित अधिकारको पैरवी अभियानसँगै ३० वर्षदेखि अनवरत योगदान गरेकोले आफूलाई अध्यक्षको सबल दाबेदार रहेको बताउनुभयो ।

अहिलेसम्म आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा देखिएका छैनन् । बेलका नगर प्रमुख समेत रहेका दुर्गाकुमार थापा चुनाव नलड्ने तर, अध्यक्षको कुर्सी आफ्नो पक्षमा पार्ने दाउमा लागेका छन् । चुनाबी प्रतिस्पर्धा जानका लागि कालुमान लामा, प्रमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियारले आफनो उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।