अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकारात्मक : गौतम

सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकारात्मक : गौतम

जिल्ला अधिवेशन उद्घाटन गर्न भोलि अध्यक्ष ओली संखुवासभा आउने


संखुवासभा – नेकपा एमालेका स्थायी कमिटीका सदस्य राजेन्द्र गौतमले सङ्घीय संसद्मा जारी गतिरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद शुरु हुनु सकारात्मक पक्ष रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाका सदस्य गौतमले सत्ता गठबन्धनले राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको महत्व र आवश्यकता बुझ्न थालेकाले संसद्को गतिरोधका लागि निकासको बाटो खोजिने सम्भावना बढेको बताउनुभयो । एमालेको आठौँ संखुवासभा जिल्ला अधिवेशनको पूर्व सन्दर्भमा उद्घाटन र बन्दसत्रस्थलको निरीक्षणका क्रममा नेता गौतमले पत्रकारहरुसँग कुरा गर्दे भन्नुभयो, ‘सरकारले एमालेले संसद्मा उठाउँदै आएको विषयलाई सुनुवाइ गर्ने सोचमा रहेको देखिएको छ । यो सकारात्मक कुरा हो । हामीले उठाएका सवाललाई कसरी सम्बोधन हुन्छ, त्यसका आधारमा एमालले धारणा बनाउनेछ ।’ शनिबार प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उहाँको निवास बालकोटमा भेटवार्ता गर्नुभएको थियो ।

उहाँले एमालेले कारबाहीका लागि सिफारिश गरेका १४ जना सांसद्लाई कारबाही नगरिदिएकाले सभामुखले या त गल्ती स्वीकार्नुपर्ने या पदबाट राजनीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आफूहरुको अडान कायम रहेको स्पष्ट गर्नुभयो । यसअघि सभामुख अग्निप्रसाद सापकोटा तथा प्रधानमन्त्री देउवाले बोलाउनुभएको अलग अलग सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको थियो ।

अमेरिकी सहायता परियोजना मिलेलियन च्यालेन्ज परियोजना ९एमसिसी०का विषयमा सोधिएको प्रश्नमा नेता गौतमले एमालेले उक्त सम्झौतालाई परिमार्जनसहित पारित गराउने कुरा गर्दै आएको र यसबारे सरकारको धारणा आएपछि मात्रै एमालेले आफ्नो नीति बनाउने जनाउनुभयो ।

एमालेका प्रदेश नं. १ का अध्यक्ष तुल्सीप्रसाद नेउपानेले प्रदेशका जिल्लाहरुमा सहमतिमा नेतृत्व चयन हुन थालेको र संखुवासभामा पनि सहमतिमा हुने जानकारी दिनुभयो । एमालेका संखुवासभा जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेले सोमबार एमालेका अध्यक्ष ओलीबाट खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा उद्घाटन गर्ने र बन्दसत्र खाँदबारी-३ कृषि बजारमा हुने जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा आयोजकसहित एक हजार प्रतिनिधि सहभागी हुनेछन् ।