अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियताका लागि एमाले निर्विकल्प : अध्यक्ष ओली

राष्ट्रियताका लागि एमाले निर्विकल्प : अध्यक्ष ओली


खाँदबारी – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभएको छ ।

सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई नवप्रवेशीलाई कहिल्यै पश्चाताप नहुने ठोकुवा गर्नुभयो । ‘अब कोही पनि अल्मलिइरहनु पर्दैन । आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहान्छौँ । एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो ।’ अध्यक्ष आलीले भन्नुभयो, ‘नेपालमा लोकतान्त्रिक आन्दोलन ध्वस्त भएमा बेलामा हामीले सानो शक्तिबाट झापा विद्रोहका नाममा सङ्घर्षको विगुल फुकेका थियौँ ।’

अहिले आफूहरू जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतामा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ ।’ अध्यक्ष ओलीले समयमा स्थानीय तहको निर्वाचन नगराएर ती तहलाई जनप्रतिनिधि बनाएर कर्मचारीको भरमा चलाउने षड्यन्त्र गरेको आरोप लगाउँदै देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खाँदबारी-किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर बाटो बनाउन आफ्नो नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको र विराटनगरदेखि किमाथाङ्कासम्म चल्ने अन्तर्राष्ट्रियस्तरको मार्ग चाँडै खुल्ने जनाउनुभयो । सङ्खुवासभामा रहेको ९०० मेघावाट क्षमताको अरुण—३ जलविद्युत आयोजनाको आफूले प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको र जिल्लालाई यहाँका उत्पादन र रोजगारीको सम्भावनालाई उजागर गर्ने एमालेको अवधारणा रहेको बताउनुभयो ।

 जिल्लामा विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय खोल्न आफूले थालनी गरेको र त्यसले नेपालको आयुर्वेदिक चिकित्सा प्रणालीलाई विश्व सामु चिनाउन समर्थ हुने बताउनुभयो । शिक्षा तथा स्वास्थ्य पर्यटन, औषधालय र कृषि उत्पादन आदि क्षेत्रमा सङ्खुवासभा प्रचुर सम्भावनायुक्त जिल्ला भएकाले ती सम्भावनालाई उजिल्याउन एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेको काँधमा रहेको देश बनाउने अभिभारा पूरा गर्न नदिने बाधा—व्यवधान पन्छ्याउने गरी सहमतिमा आधारमा जिल्ला अधिवेशन सम्पन्न गराउन आग्रह गर्नुभयो । एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानसभाबाट संविधान बनाउने अभियानको नेतृत्व अध्यक्ष ओलीले गरेको र त्यसपछि उहाँको नेतृत्वमा बनेको सरकारले भारतीय नाकाबन्दीका डटेर मुकाबिला गरेको स्मरण गराउनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा प्रतिपक्षमा रहेर काँग्रेस र नेकपा (माओवादी केन्द्र) को तालमेलको मुकाबिला गरेको र आगामी निर्वाचनमा पनि एमाले एक्लैले जनताको साथ पाउने दाबी गर्नुभयो । पूर्व अर्थमन्त्री पौडेलले खाँदबारी—किामाथाङ्का जोड्ने सडकका लागि प्राथमिकताका साथ बजेट निर्धारण गर्न तत्कालीन प्रधानमन्त्री ओलीले आफूलाई निर्देशन दिएको र आगामी दिनमा एमालेले एक बहुमत पाएमा विकास र समृद्धिका कामले गति पाउने विश्वास दिलाउनुसभयो ।

एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अनेक जालझेल र तिकडमबाट एमाले नेतृत्वको सरकार ढालिएको र जनताको समृद्धिको चाहनामाथिको प्रहार भएकाले आगामी निर्वाचनमा त्यसको जवाफ फर्काइने उद्घोष गर्नुभयो । एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद् राजेन्द्र गौतमले सङ्खुवासभामा एमालेप्रतिको लहर नयाँ ढङ्गले बढेको बताउनुभयो । कार्यक्रममा विभिन्न दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष अनन्त गौलीले अधिवेशन सफलताको कामना व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेका प्रवेश गराइएको छ । प्रवेश गर्नेमा नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य एवं चैनपुर नगरपालिका-८ का वडाध्यक्ष भरत खड्का, माओवादीका जिल्ला सदस्य सोमबहादुर जिमी, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुरेन्द्र् खत्री, नेपाली कांग्रेसका जिल्ला नेता भीमबहादुर जिमी, राप्रपाको चैनपुर नगर कमिटीका अध्यक्ष ललित राईलगायत करिब दुई हजार ५०० हुनुहुन्छ । उहाँहरूलाई अध्यक्ष ओलीले माला र टीका लगाएर पार्टी प्रवेश गराउनुभयो ।

खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र खाँदबारी—३ कृषि बजारमा हुने जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिनुभयो ।