अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले भारतलाई भन्यो- नेपालमाथिको बलमिचाइँ रोक

एमालेले भारतलाई भन्यो- नेपालमाथिको बलमिचाइँ रोक


काठमाडौं – नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले आज विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ- ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ।’

नेपाली भूमिमा भइरहेको सडक निर्माणमा पाँच दलीय गठबन्धन संलग्न नेपाल सरकारको मौनताले अनेकौँ प्रश्न जन्माएको पनि एमालेले जनाएको छ। यस विषयमा गठबन्धन सरकारको मौनताले अनेकौं प्रश्न गर्ने शंका उब्जाएको बताएको छ । ‘तर राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर भारतसँगको सीमा समस्याबारे अविलम्ब वार्ता गर्न पनि सरकारलाई भन्नुभएको हो ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अभिन्न भूभाग हुन्। गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवम् संविधान संशोधनमार्फत नेपालले यसबारे आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ’, भट्टराईले भन्नुभयो, ‘ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कूटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ।’