तनहुँ – तनहुँका पत्रकार प्रकाशचन्द्र भट्टराई र बसन्ती बास्तोला ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार २०७८’ बाट सम्मानित हुनुभएको छ।
बुधबार प्रेस चौतारी नेपाल तनहुँको नवौँ अधिवेशन अवसरमा भट्टराई र बास्तोललाई पुरस्कृत गरिएको हो।
जिल्लाको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै जनही १० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङ, प्रतिनिधसभा सदस्य केदार सिग्देलले दोसल्ला ओडाएर पत्रकार भट्टराई र बास्तोलालाई सम्मान गर्नुभएको थियो।
प्रेस चौतारीले स्थापना गरेको पुरस्कार गत वर्ष कोरोनाका कारण वितरण गरिएको थिएन । प्रेस चौतारीले ‘मरेर बाँचेकाहरु’ र ‘अन्तिम सन्देश’ नामक वृत्तचित्र प्रदर्शन गरेर संकलन गरेको रकमले एक लाख रुपैयाँको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेको छ । कोषबाट प्राप्त ब्याजले प्रत्येक अधिवेशनमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गर्ने प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्काले बताउनुभयो ।
पुरस्कृत भट्टराई प्रेस चौतारी तनहुँका पूर्व अध्यक्ष हुन् । हाल उहाँ प्रेस चौतारीका केन्द्रिय सदस्य हुनुहुन्छ । लोकवाणी दैनिकको सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ ।
बास्तोला अहिले सञ्चारिका समुह नेपालकी केन्द्रिय सदस्य हुनुहुन्छ । तनहुँबाट पत्रकारिता सुरु गर्नुभएको उहाँ कान्तिपुर दैनिक हुँदै टेलिभिजन कार्यक्रम समकोणमा आबद्ध हुनुभएको थियो।
अधिवेशनमा प्रेस चौतारीका पूर्व अध्यक्षलाई पनि सम्मान गरिएको छ। पूर्व अध्यक्ष शिवदत्त ढकाल, प्रेमप्रसाद पौडेल र त्रिभुवन श्रेष्ठलाई सम्मान गरिएको हो।







प्रतिक्रिया