अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माघ १६ देखि २० सम्म खोपका लागि विद्यालय खोलिने

माघ १६ देखि २० सम्म खोपका लागि विद्यालय खोलिने


काठमाडौं -  माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ । 

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।

त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ । 

त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ । विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।