काठमाडौं-नेकपा एमालेका प्रकाशन एवं प्रचार विभाग प्रमुख निरज आचार्यले वैकल्पिक आवासको व्यवस्था नगरी काठमाडौंका होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई हटाउने सरकारको निर्णय आपत्तिजनक र अमानवीय भएको बताएका छन्।
आचार्यले विस्थापित सुकुमवासीलाई सुरक्षित आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
‘वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमवासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार छ,’ आचार्यले भने, ‘घर भत्काएर पुनर्वासको आश्वासन दिँदै महिनौँ अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने सरकारको कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत छ ।’
राज्य नागरिकको अभिभावक हुनुपर्ने भन्दै उनले बेघर नागरिकलाई थप बेघर बनाउने काम गर्न नहुने बताए ।

‘भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट होइन, न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गरिनुपर्छ,’ उनले भने, ‘होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता गरी सुरक्षित आवासको सुनिश्चितता गरियोस्।’
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि होल्डिङ सेन्टर खाली गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको थियो।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको हो।
‘नेपाली कांग्रेस होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ।
यसै सन्दर्भमा, नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा राणाले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै लेखेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’
प्रभावित परिवारसँग संवाद गरेर सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्ने राणाको भनाइ छ। पुनर्वास नभएसम्म ती परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनले बताएका छन्।
सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई शनिबारसम्म खाली गर्न सूचना जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, भक्तपुरले जारी गरेको सूचनामा मंसिर ११ गतेसम्म होल्डिङ सेन्टर खाली गर्न समयसीमा तोकिएको छ।



प्रतिक्रिया