अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल उपमहानगरको नयाँ भवन एमालेका उपाध्यक्ष पौडेलद्वारा उद्घाटन

बुटवल उपमहानगरको नयाँ भवन एमालेका उपाध्यक्ष पौडेलद्वारा उद्घाटन


रुपन्देही – रुपन्देहीको बुटवल उपमहानगर पालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।  नयाँ भवनको बुधवार नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्नुभयो ।

भवनको शिलान्यास पनि पौडेलले नै गर्नुभएको थियो । नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गर्नुभएको हो ।

महानगरीय अवधारणाका साथ नयाँ भवन निर्माण गरिएको बुटवलको दाबी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाको हाल रहेको पुरानो भवनको दक्षिण भागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो । करीब ३ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । चार तलाको अत्याधुनिक भवनको अनुमानित लागत रु. ५४ करोड ७८ लाख ४५ हजार ३८१ रुपैयाँ रहेको थियो ।