अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेश भट्टराईको टिप्पणी- बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो

योगेश भट्टराईको टिप्पणी- बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो


काठमाडौं-नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौनता राजनीतिक प्रतिस्पर्धाको एउटा महत्त्वपूर्ण पक्ष बनेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप-काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा बोल्दै उपमहासचिव भट्टराईले प्रधानमन्त्री शाहको संवाद शैली र सार्वजनिक अन्तरक्रियाको अभावलाई जासुसी उपन्यासको पात्रसँग तुलना गरे। उपमहासचिव भट्टराईले प्रधानमन्त्रीको मौनता र सीमित सार्वजनिक संवादले राजनीतिक वृत्तमा फरक प्रकारको प्रभाव पारिरहेको बताए।

उपमहासचिव भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अभिव्यक्तिभन्दा प्रधानमन्त्री शाहको मौनता राजनीतिक रूपमा बढी चर्चाको विषय बनेको विश्लेषण गरे। उपमहासचिव भट्टराईले भने, ‘रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेन शाहको मौनता मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको छ।’

प्रधानमन्त्री शाहको भारत भ्रमणप्रति विगतका प्रधानमन्त्रीहरूको भ्रमणसँग तुलना गर्दै भट्टराईले राजनीतिक प्रतिक्रिया र बौद्धिक वृत्तको धारणा फरक देखिएको बताए । विगतमा प्रधानमन्त्रीहरूको भारत भ्रमण वा विभिन्न सम्झौताका विषयमा आलोचना हुने गरेको स्मरण गर्दै उनले शाहको भ्रमणका क्रममा भने सकारात्मक प्रतिक्रिया बढी देखिएकोप्रति आफ्नो धारणा राखे।

उपमहासचिव भट्टराईले राजनीतिक नेतृत्वले सार्वजनिक संवाद, पारदर्शिता र नागरिकसँगको अन्तरक्रियालाई महत्त्व दिनुपर्ने संकेत गर्दै राजनीतिक प्रभाव लामो समयसम्म कायम राख्न संवाद र जवाफदेहिताको आवश्यकता औँल्याए।

यसै क्रममा भट्टराईले जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने धारणा राखे । घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष र विश्वसनीय छानबिन आवश्यक रहेको उनको भनाइ थियो।

आगामी स्थानीय निर्वाचनमा पार्टीभित्रको गुटगत समीकरणभन्दा माथि उठेर उम्मेदवार छनोट गर्नुपर्नेमा पनि भट्टराईले जोड दिए । पार्टी सदस्यको विवेक, स्थानीय राजनीतिक अवस्था तथा तल्लो तहबाट आएका सिफारिसलाई आधार बनाएर उम्मेदवार चयन गर्नुपर्ने उनले बताए ।