अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा एकै दिन आयो १५ हजार सिटामोल

भक्तपुरमा एकै दिन आयो १५ हजार सिटामोल

सिटामोल अभाव छैन- सिडिओ


भक्तपुर – भक्तपुरमा आज एकै दिन १५ हजार पिस सिटामोल भित्रिएको छ।

राससले सोमबार भक्तपुरमा सिटामोलको अभाव भएको समाचार सम्प्रेषण गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा भक्तपुरका २० भन्दा बढी औषधि पसलमा अनुगमन गरिएको थियो ।

‘भक्तपुरमा सिटामोलको अभाव हुन नदिन मैले पहल गरेँ, नेपाल ड्रग लिमिटेडले आज एकै पटक १५ हजार पिस सिटामोल पठाएको छ, जिल्लाका चारवटै नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा केही दिन अगाडि मात्रै ४० हजार सिटामोल बाँडिएको छ,’ प्रजिअ शर्माले भन्नुभयो, ‘प्रदेश सरकारसँग पनि सिटामोल माग्न मैले जिल्ला स्वास्थ्य कार्यालयलाई भनेको छु, प्रदेशबाट पनि सिटामोल आउँदैछ, औषधि व्यवस्था विभागलाई पनि सिटामोल पठाउन भनेका छौँ ।’

जिल्ला स्वास्थ्य कार्यालयले ४० हजार सिटामोल चारवटै नगरपालिकाहरुका स्वास्थ्य कार्यालयमा केही दिनअगाडि वितरण गरेका जानकारी दिँदै उहाँले आजै सबै पालिकासँग सिटामोलको रेकर्ड माग गर्दा कतै अभाव नभएको पाइएको बताउनुभयो । सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरेको सिटामोल आवश्यक परेमा आफ्नो नजिकका स्वास्थ्य संस्थामा गएर चिकित्सकको परामर्शअनुसार लिन सकिने उहाँले बताउनुभयो । भक्तपुर अस्पताललगायत यहाँका अन्य अस्पतालमा पनि सिटामोल अभाव नभएको उहाँले दाबी गर्नुभयो ।

प्रजिअ शर्माले भन्नुभयो, ‘केही निजी फार्मेसीहरुले सिटामोलको अभाव देखाएका छन्, भक्तपुरमा हामीले पर्याप्त सिटामोल ल्याएका छौँ, अब अभाव छैन, सिटामोलको अभाव देखाउँदै बिक्री गरेको पाइएमा कारबाही गर्छौं ।’ प्रशासनले बजारको सूक्ष्म अनुगमन गरिरहेको उल्लेख गर्दै उहाँले बजारमा सिटामोलको अभाव देखाएर सिटामोल लुकाउने वा महँगोमा बिक्री गरेको पाइएमा कारबाही गर्ने बताउनुभयो ।

#प्रजिअ शर्माको नेतृत्वमा भक्तपुरका २० वटा औषधि पसलको अनुगमन गर्दा गलत गर्ने दुईवटा फार्मेसीलाई औषधि व्यवस्था विभागमा हाजिर हुन पठाइएको थियो । भक्तपुरमा ज्वरोको बिरामी ह्वात्तै बढेपछि सिटामोलको माग बढेको थियो । भक्तपुरमा अहिले दैनिक ५०० भन्दा बढी ज्वरोका बिरामी विभिन्न अस्पतालमा परीक्षणका लागि जाने गरेका छन् । भक्तपुर अस्पतालमा मात्रै दैनिक २५० देखि ३०० सम्म बिरामीहरु ज्वरो आएकै कारण स्वास्थ्य परीक्षणका लागि आउने गरेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समित्रा गौतमले जानकारी दिनुभयो। भक्तपुर अस्पतालमा पनि सिटामोलको अभाव नभएको र पर्याप्त रहेको उहाँले जानकारी दिनुभयो ।