काठमाडौँ-काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ। महानगरले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्रीका लागि विभिन्न स्थानसमेत तोकेको छ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत महानगर प्रहरी बलले सूचना जारी गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न/नगराउन आग्रह गरेको हो।
सूचनामा प्रतिबन्धित सामग्री बिक्री–वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिइएको छ। महानगरले नेपाली किसानले उत्पादन गरेका फूल तथा माला सहज रूपमा बिक्री गर्ने वातावरण बनाउन विभिन्न मल, मार्ट, चौर, मन्दिर परिसर तथा खुला स्थानहरू बिक्री केन्द्रका रूपमा निर्धारण गरेको जनाएको छ।
महानगरले बानेश्वर तथा शङ्खमूल क्षेत्रमा एनबी सेन्टर, आईप्लेक्स मल, सेल्सबेरी, बिग मार्ट शङ्खमूललगायत स्थान तोकेको छ। त्यस्तै, चाबहिल तथा सिफल क्षेत्रमा सिफल चौर, एसी कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्रलाई बिक्री केन्द्र बनाइएको छ।
कालिमाटी, कलङ्की तथा स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलङ्की भाटभटेनी र स्वयम्भू धर्मचक्र पार्क तोकिएका छन्। गोङ्गबु, माछापोखरी तथा नयाँ बजार क्षेत्रमा माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर र गोङ्गबु बिग मार्टमा फूलमाला बिक्री गर्न सकिनेछ।
यसैगरी, हाँडीगाउँ, महाराजगञ्ज तथा बालुवाटार क्षेत्रमा हाँडीगाउँस्थित वडा नं. ५ कार्यालय अगाडिको डबली, गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट र बाँसबारी बिग मार्टलाई बिक्री केन्द्र तोकिएको छ।
सिटी सेन्टर तथा कोर एरियाअन्तर्गत काठमाडौँ मल (सुन्धारा), भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी, पुतलीसडक, अनामनगर भाटभटेनी र न्युप्लाजा क्षेत्रमा पनि स्वदेशी फूलमाला बिक्री गर्न सकिने महानगरले जनाएको छ।
त्यस्तै, अन्य स्थानमा बत्तीसपुतलीस्थित फोनेक्स टावर, तीनकुने चौर र कोटेश्वर स्मार्टलाई समेत बिक्री केन्द्रका रूपमा तोकिएको छ।
महानगरले तिहारमा स्वदेशी फूलको प्रयोग बढाउन, नेपाली किसानको उत्पादनले बजार पाउन तथा प्लास्टिकजन्य सामग्रीबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यस्तो व्यवस्था गरेको जनाएको छ।




प्रतिक्रिया