अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु


काठमाडौं- राष्ट्रियसभा सदस्य १९ पदका लागि मतदान सुरु भएको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आउँदो फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उमेदवार चुनावी मैदानमा छन् ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उमेदवार निर्वाचित हुनेछन् ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।