अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह चुनावले देउवा दबाबमा, दाहाल र नेपालसँग भेट

स्थानीय तह चुनावले देउवा दबाबमा, दाहाल र नेपालसँग भेट


काठमाडौं- स्थानीय तह चुनाव छल्न सत्ता गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपालको प्रस्तावले प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा हुनुहुन्छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा स्थानीय तह चुनावको प्रेसर पर्ने निश्चित भएपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालसँग भेट गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाउनुभएको छ । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।

राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाउनु भएको हो । बैठकले स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय लिने भएको छ ।

कांग्रेस बैठक बस्नुअघि नै प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको हो।

राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराउनु भएको छ। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिनुभएको थियो । प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराउनु भएको थियो ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।

एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ । प्रचण्ड र माधवले कांग्रेसभित्र चुनावको पक्षमा बातावरण रहेको भन्दै त्यस्तो काम नगर्न प्रधानमन्त्रीलाई दवाव दिनुभएको छ ।