अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले सभामुख सापकोटामाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं : टोपबहादुर रायमाझी

कांग्रेसले सभामुख सापकोटामाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं : टोपबहादुर रायमाझी


‘एमालेले कसैसँग पनि गठबन्धन नगरी केन्द्रदेखि स्थानीय तहसम्म बहुमत ल्याउँछ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पार्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाउनुभयो । उहाँले भन्नुभयो, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’

रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताउँदै तर आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’

रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । हामीलाई जनताले ठूलो समर्थन जनाएका छन्।’

रायमाझीले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले यतिवेला परमादेशको कारण प्रतिपक्षमा छ । एमालेविरोधीहरुले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । उनीहरु अब पराजित मानसिकतामा छन् । एमालेले जित्छ त्यसैले गठबन्धन गर्नुपर्छ भनेर उनीहरुले भनेका छन् । उनीहरुलाई जनताको समर्थन छैन् । यो गठबन्धन लोभी÷पापीहरुको झुण्ड हो ।’

रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस् । संसद्मा टेबुल भएपछि हामी सोच्छौं। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।’

रायमाझीले एमालेलाई पत्तासाफ गर्छु भनेर प्रचण्डले भनेको हो भने पहिले चुनाव गराउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘यदि प्रचण्डले एमालेलाई चुनावमा पत्तासाफ गर्छु भनेको हो भने पहिले चुनाव गराएर हेर्नुहोस, अनि को हुन्छ पत्तासाफ ? प्रचण्डको कुरा हावादारी कुरा हो । २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भए माओवादीको हालत के हुन्थ्यो ? प्रचण्ड उकालो लाग्ने भए उहाँले किन गठबन्धनतिर लाग्नुपर्दथ्यो र ?’