अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सरस्वती पूजा, अक्षरारम्भ गर्ने दिन

आज सरस्वती पूजा, अक्षरारम्भ गर्ने दिन


काठमाडौं- प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ ।

विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेकोमा यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन् ।

यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।

वसन्त श्रवण

यस अवसरमा हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ । वसन्त श्रवणको लागि बिहान १०ः३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

यो पाठ १५ श्लोकको रहेको छ । आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ ।

आजका दिन ज्ञान, सिप तथा शिक्षाको सुरुवात गर्दा राम्रो हुने ग्रह योग मानिन्छ । आज सिप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गर्न शुभ हुने मानिन्छ ।