काठमाडौं- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखि परीक्षण उडान सुरु गरिने भएको छ ।
त्यसका लागि बिहीबार एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ।
विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टु का प्रमुख प्रविन न्यौपानेले जानकारी दिनुभयो।
‘यो यात्रुभन्दा पनि बढी उपकरण रहने जहाज हो। आइकाओको डकुमेन्ट, परीक्षण उडान मापदण्डअनुसार उडान सञ्चालन हुन्छ’, नेउपानेले भन्नुभयो ‘जहाज उडेपछि विभिन्न प्रकारका उपकरणहरूको परिक्षण हुन्छ।
परीक्षण उडानका क्रममा दिउँसो केहीबेर आन्तरिकतर्फका नियमित उडान स्थगित हुनेछन् । भैरहवाबाट बिहान ७ वटा र साँझ १२ वटा नियमित उडान हुने गरेका छन्। दिउँसो ३ घण्टाजति नियमित उडान स्थगित हुने नेउपानेले जानकारी दिनुभयो।
आउने बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी छ। त्यसअघि परीक्षण उडान गर्न लागिएको हो।
नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो।
प्रतिक्रिया