काठमाडौं-खाना पकाउने एलपी ग्यासको आपूर्ति बढाउन सरकारले गरेको पहलपछि एकै दिन १६१ बुलेट ग्यास लोडिङ भएको छ। सामान्य अवस्थाको तुलनामा ४१ देखि ५१ बुलेटसम्म बढी ग्यास लोडिङ भएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार सामान्यतया दैनिक औसत ११० देखि १२० बुलेट ग्यास लोडिङ हुँदै आएको थियो। तर, नोभेम्बर २६ मा १६१ बुलेट ग्यास लोडिङ भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निर्देशनपछि निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) सँग समन्वय गर्दै ग्यास लोडिङ बढाउन अनुरोध गरेको थियो। मन्त्रीले दैनिक १६० बुलेटसम्म ग्यास लोडिङको व्यवस्था मिलाउन निगम व्यवस्थापनलाई निर्देशन दिएका थिए।
ग्यास लोडिङ बढेसँगै बजारमा आपूर्ति व्यवस्थापन थप सहज हुने निगमको अपेक्षा छ। निगमका अनुसार हाल बजारमा ग्यासको बिक्रीवितरण नियमित रहेको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक पहल भइरहेको पनि निगमले जनाएको छ।
सरकारले ग्यासको माग र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गर्दै आयात, ढुवानी तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।
यद्यपि, आयात तथा लोडिङ बढ्दैमा बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित नहुने भएकाले त्यसअनुसार ढुवानी र वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउनु सरकारका लागि चुनौती देखिएको छ।



प्रतिक्रिया