काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले तिहार तथा छठ पर्वयता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायमार्फत विभिन्न १५ वटा प्रमुख काम अघि बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन विवरणअनुसार यस अवधिमा प्रधानमन्त्री शाहको भारतको दुईदिने राजकीय भ्रमणदेखि जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, विपद् व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक खरिद प्रणाली सुधार र पूर्वाधार विकाससम्मका काम अघि बढाइएको हो।

कार्यालयका अनुसार मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा विभिन्न महत्त्वपूर्ण सहकार्यका विषयमा छलफल भएको छ। त्यस्तै, तल्लो अरुण जलविद्युत् परियोजनाको विकासकर्ता छनोट गरी पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ।
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा समेटिएका तिहार तथा छठयताका १५ प्रमुख काम यसप्रकार छन्:
१. प्रधानमन्त्रीको भारत भ्रमण
प्रधानमन्त्री वालेन्द्र शाहले २०८३ मंसिर ६ र ७ गते मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरेका छन्। भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता हुनुका साथै द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र विभिन्न महत्त्वपूर्ण विषयमा छलफल भएको छ।
२. जेनजी शहीद परिवार र घाइतेको पुनर्स्थापनामा पहल
जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरिएको छ। बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ।
३. नेपाल जेनजी परिषद् गठनको तयारी
नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरिएको छ। उक्त मस्यौदा आवश्यक राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको छ।
४. विपद् उद्धार कोषमा १८ अर्ब ६२ करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
५. तीन तहका सरकारका योजना तथा बजेटको अध्ययन
सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न पहल गरिएको छ। योजनामा दोहोरोपना हटाउने उद्देश्यले पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ।
६. राष्ट्रिय दूरसञ्चार नीति परिमार्जन प्रक्रिया अघि
सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीसँग सुझाव लिइएको छ। प्राप्त सुझावका आधारमा नीतिलाई परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ।
७. विदेशी प्रविधि कम्पनी भित्र्याउन विशेष नीति
नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढाइएको छ। यस नीतिमार्फत विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने व्यवस्था गर्ने तयारी छ।
८. सीपमूलक तालिमको प्रभावकारिता बढाउन कार्यदल
सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ। तीनै तहका सरकारबाट सञ्चालन हुने तालिम कार्यक्रमबीच दोहोरोपना हटाउने विषयलाई समेत कार्यदलले अध्ययन गर्नेछ।
९. राष्ट्रिय साइबर सुरक्षासम्बन्धी कार्यशाला
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान तथा संरक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ। कार्यशालामा विभिन्न नियामक निकाय तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षा चुनौती र पूर्वाधार संरक्षणका विषयमा छलफल भएको छ।
१०. सिंहदरबारको गेटपास प्रणाली पुनः सञ्चालन
लामो समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ। यसबाट सिंहदरबार प्रवेश व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
११. तल्लो अरुण जलविद्युत् परियोजनाको ठेक्का आह्वान
लगानी सम्मेलन २०१९ मा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी (निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण) मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेको उक्त परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ।
१२. सार्वजनिक खरिदसम्बन्धी २३ निकायलाई परामर्श
सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरेको छ। यसबाट सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
१३. सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा कार्यविधि जारी
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गरिएको छ। साथै, सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ।
१४. नयाँ ई–जीपी प्रणाली सञ्चालन
सरकारी खरिद प्रक्रियालाई विद्युतीय माध्यमबाट थप व्यवस्थित बनाउन नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कात्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्। त्यस्तै, सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ।
१५. कर्मचारीको सेवाप्रवाह अनुगमन र १५ हजार रोपनी जग्गाको अध्ययन
सरकारी सेवाप्रवाहलाई प्रभावकारी बनाउन विभिन्न जिल्लामा कर्मचारीको आचारसंहिता पालना, सेवाप्रवाह तथा सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न टोली परिचालन गरिएको छ। यस क्रममा सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
त्यस्तै, नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण तथा व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रफलमा अनुगमन गरिएको छ। ट्रष्टको सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा यी कामलाई तिहार तथा छठ पर्वयताका प्रमुख कार्यसम्पादनका रूपमा प्रस्तुत गरिएको छ।



प्रतिक्रिया