अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार प्रेस स्वतन्त्रता संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्न दृढ छ : मन्त्री कार्की

सरकार प्रेस स्वतन्त्रता संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्न दृढ छ : मन्त्री कार्की


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् मनेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधानले प्रेस जगत्लाई पूर्ण स्वतन्त्रताको सुनिश्चित गरेको उल्लेख गर्दै वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)को ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उहाँले सरकार प्रेसलाई सङ्कुचन गर्ने कुनै मनसाय नराखी स्वच्छ आलोचनालाई आत्मसात् गरेर अघि बढिरहेको उल्लेख गर्नुभएको छ । उहाँले सरकार राष्ट्रियता, भौगोलिक अखण्डता, राजनीतिक स्थिरता, संविधानको रक्षा, सन्तुलित विदेश नीति, सुदृढ र सबल अर्थतन्त्र, दिगो विकास, स्वतन्त्र न्यायालय, सुशासन, मानवाधिकार र प्रेस स्वतन्त्रताका पक्षमा दृढ रहेको बताउँदै सरकारलाई मुलुकका सबै आमसञ्चारमाध्यमबाट पूर्णसहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्री कार्कीले राज्यको एक मात्र समाचार समितिका रूपमा अविच्छिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको रासस समयानुकूल सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यताको संवद्र्धन र नेपालीको समृद्धिका लागि राससको आवश्यकता अझ बढ्दै गएको सन्दर्भमा सङ्घीय सरकारबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास दिलाउनुभएको छ ।

मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन मिति घोषणा भई निर्वाचन कार्यक्रम तदारूकताका साथ अघि बढिरहेको, सङ्घीय एवम् प्रादेशिक निर्वाचनसमेतको समयावधि कम रहेको र निर्वाचन प्रक्रियामा सक्रियताका साथ भाग लिन जिम्मेवार राजनीतिक दल, आमजनता तम्तयार रहेका अवस्थामा जवाफदेही सकारात्मक, रचनात्मक समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई अनुरोध गर्नुभएको छ ।

“गलत सूचना सम्प्रेषण एवम् भ्रम र अफवाह पैदा गरी मुलुकमा अस्थिरता, अन्योल सिर्जना गर्ने र देशवासीलाई विभाजित गर्ने दुष्प्रयासलाई चिर्दै सत्य, तथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने दायित्व राससको रहेको छ । मुलुकमा विद्युतीय अनलाइन तथा टेलिभिजनका अनेकौँ सञ्जालको विस्तार भइरहेका अवस्थामा तिनलाई राज्य र जनताको आधिकारिक समाचार सामग्री उपलब्ध गराउने जिम्मेवारी पनि यसको हो”, उहाँले उल्लेख गर्नुभएको छ ।

मन्त्री कार्कीले राससले निकट भविष्यमा नै श्रव्यदृश्यलगायत समाचारको एकीकृत सेवा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्र्दै सो सम्बन्धी सामग्रीबाट देशभर सञ्चालित रेडियो र टेलिभिजन थप लाभान्वित हुने छन् भन्ने विश्वास व्यक्त गर्नुभएको छ । आफ्ना सेवाग्राही सङ्ख्यामा उल्लेख्य वृद्धि गरी उपलब्ध सम्पत्तिको अधिकतम् सदुपयोग गर्नाका साथै आम्दानीका अन्य स्रोतसमेत पहिल्याएर आफूलाई आत्मनिर्भर बनाउन रासस व्यवस्थापनलाई उहाँले आग्रह गर्नुभएको छ ।

मन्त्री कार्कीले समसामयिक नीति तथा कार्यक्रमका साथ सूचना प्रविधिलाई अधिकतम उपयोग गरी आफ्नो सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै अझ विश्वसनीय र भरपर्दाे सञ्चारमाध्यमका रूपमा रासस स्थापित हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।