बैतडी-दार्चुलाको अपिहिमाल गाउँपालिका-१ स्थित भट्टार क्षेत्रमा शुक्रबार पहिरो गएको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोले नदीको केही भाग पुरिएको छ भने पानीको बहाव हाल कायम रहेको छ। यद्यपि पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको उनले बताए।
‘पहिरोले चौलानी नदी थुनिएको जानकारी प्राप्त भएको छ। अहिले पानी पास भइरहेको छ, तर फेरि पहिरो जान सक्ने सम्भावना रहेकाले नदी किनारका बासिन्दालाई सतर्क गराइसकेका छौँ,’ प्रजिअ पौडेलले भने।
उनका अनुसार अपिहिमाल, मार्मा, लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका नदी तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले सम्बन्धित प्रहरी निकायलाई सतर्क रहन निर्देशन दिइएको छ। साथै डडेलधुरा र बैतडीका तटीय क्षेत्रका बासिन्दालाई समेत सम्भावित जोखिमबारे जानकारी गराइएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक गरेको सूचनामा चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र थप पहिरो खसिरहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
नदी थुनिएर एक्कासि फुट्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट बच्न आग्रह गरेको छ। पहिरोबाट भएको क्षतिको आधिकारिक विवरण भने हालसम्म प्राप्त नभएको र घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।


प्रतिक्रिया