काठमाडौँ-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ। बिहीबार बिहान पुल नजिकैको ढिकबाट स-साना ढुंगाहरू सडकमा झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक डिभिजनले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका ढुंगाहरू पन्छाउने तयारी भइरहेको जानकारी दिएको छ। स-साना ढुंगाहरू मात्र झरेको हुनाले त्यसलाई हटाएर सडक पूर्ण रूपमा सुचारु गर्न धेरै समय नलाग्ने कार्यालयले स्पष्ट पारेको छ।
ढुंगा खसेर पुरानो सडक प्रभावित भए पनि हाल सोही स्थानमा निर्माण भएको नयाँ पुलबाट सवारी आवागमन नियमित रूपमा भइरहेको छ। त्यसैले यात्रुहरू बिचमै रोकिनुपर्ने अवस्था भने छैन।
यद्यपि, सडक माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहन सक्ने भएकाले उक्त सडकखण्ड प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन सडक डिभिजन भरतपुरले अपिल गरेको छ। कार्यालयले भनेको छ, ‘यात्रा गर्दा सडकको अवस्था हेरेर, आवश्यक परे रोकेर र बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ।’


प्रतिक्रिया