अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी

पत्रकार हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी


झापा- झापाका पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिनुभएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो । गिरीसहित जिल्ला कारागार, झापामा कैद सजाय भुक्तान गरिरहेका १६ जनाको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

मोरङ सिजुवा घर भएका पत्रकार पौडेलको २१ चैत २०६८ मा झापाको बिर्तामोडस्थित बसपार्कमा हत्या भएको थियो । पुनरावेदन अदालत, इलामले २५ असार २०७१ मा पत्रकार पौडेलको हत्यामा संलग्न गिरीसहित ३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

अदालतको आदेशपछि फूलमाया भनिने मञ्जु ढकाल (कार्की) थुनामा गएकी थिइन् भने सोमनाथ ढकाल फरार भएका थिए । अर्का आरोपी मदन राईलाई ६ महिनाको कैद सजाय सुनाइएको थियो ।