अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरले बिथोलिन सक्छ कांग्रेस–माओवादी गठबन्धन

भरतपुरले बिथोलिन सक्छ कांग्रेस–माओवादी गठबन्धन


चितवन– भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसले पुनः दाबी पेस गरेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रेनु दाहाललाई सहयोग गरेको कांग्रेसले २०७९ सालको निर्वाचनमा समयमै आफ्नो दाबी कडाइसाथ राखेको छ । महानगरको प्रमुख पदमा कांग्रेसकै उमेदवार रहनेगरी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभयो ।

भरतपुरलाई नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएको छ ।

प्रचण्डको गृहनगर रहेको र माओवादीको अरु कुनै पनि महानगर, उपमहानगरमा जमानत जोगाउने अवस्था नरहेका कारण पनि उसले भरतपुरलाई निरन्तर ताकिरहेको छ ।

अझ प्रचण्डले कांग्रेस चितवनले भनेर केही फरक नपर्ने बताएपछि स्थानीय नेताहरु थप आक्रोसित भएका छन् । खनालले भन्नुभयो, ‘ठीक छ गठबन्धन माथिबाट गर्नुहोस्, भोट दिने त हामी नै हौंला ।’

चितवनमा आफूलाई कांग्रेसले नछाडे अर्को गठबन्धन बनाउने वा गठबन्धन नै नगर्ने निर्णयमा माओवादी पुग्न सक्ने सम्भावना छ ।

पार्टी कार्यालय कमलनगरमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहनेगरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । ‘नेपाली कांग्रेस चितवनको आजको बैठकको निर्णयको बटम लाइन भनेको महानगर प्रमुख नेपाली कांग्रेसको उमेदवार हुने हो,’ उहाँले भन्नुभयो ।

महानगर प्रमुखको उमेदवारमा दाबी गर्दै आएको गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रलाई कांग्रेसले नछाड्ने भएको छ ।

माओवादी केन्द्रले महानगरको मेयरमा पुनः रेनु दाहाललाई नै उठाउने तयारी गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरको प्रमुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्नेगरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गर्ने कोसिस गरिरहनुभएको छ । कांग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरिसकेको छ ।

चितवन कांग्रेस भने यस पटक कुनै पनि हालतमा महानगरको प्रमुखमा माओवादीलाई सहयोग नगर्ने पक्षमा छ । अन्य पालिकामा माओवादीसँग तालमेल गर्ने भएपनि महानगर प्रमुखको उम्मेदवारमा कांग्रेसले नछाड्ने निर्णय गरिएको खनालले बताउनुभयो ।