अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैतेछठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैतेछठ सम्पन्न


जनकपुर- महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ ।

चैते छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाऊ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ सम्पन्न भएको छ ।

सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाऊ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चारदिनसम्म मनाइने यस पर्वको पहिलो दिन मङ्गलबार बर्तालुले नहा खा अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए ।

पर्वको दोस्रो दिन बुधबार खरना मनाएका थिए । खरनाका दिन बर्तालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए । षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

षष्ठीका दिन बिहीबार साँझ बर्तालुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । आज बिहान पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझमा गरेको क्रम दोहो¥याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न गरेका छन् ।