काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रमप्रति आपत्ति जनाएकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै धितालले नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि आयोजित कार्यक्रमको स्वरूप, मञ्चको बनोट तथा धर्मगुरुहरूको उपस्थितिमाथि प्रश्न उठाएकी हुन्।
उनले उक्त कार्यक्रमले जेनजी आन्दोलनका सहिद तथा घाइतेहरूको भावनालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छन्। आफ्ना सन्तान गुमाएका परिवार र आन्दोलनका क्रममा घाइते भएकाहरूको पीडालाई कार्यक्रमले कसरी सम्बोधन गर्यो भन्ने प्रश्नसमेत उनले उठाएकी छन्।
‘जेनजी सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि म अवाक छु। मलाई कताकता लाग्यो, हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,’ धितालले लेखेकी छन्।
उनले कार्यक्रममा बनाइएको मञ्च र धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि पनि प्रश्न गरेकी छन्। साथै, जेनजीको आवाजलाई अगाडि बढाएका तथा सरकारका काममाथि निरन्तर प्रश्न उठाउनेहरूले कार्यक्रमको स्वरूपबारे हस्तक्षेप गर्न किन नसकेको भन्दै उनले प्रश्न गरेकी छन्।
धितालले जेनजी आन्दोलनको मूल उद्देश्य र अहिले देखिएको व्यवहारबीच विरोधाभास देखिएको समेत बताएकी छन्। गत वर्ष प्रेस स्वतन्त्रता, निरंकुशताको विरोध र अधिकारको संरक्षणका लागि सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिले आफ्नै आलोचकप्रति धम्की र चेतावनीको भाषा प्रयोग भइरहेको भन्दै असन्तुष्टि जनाएकी हुन्।
‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ?’ उनले प्रश्न गरेकी छन्, ‘के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’
उनले आफूहरू पनि सुधारिनुपर्नेमा जोड दिँदै प्रश्न गरेकी छन्, ‘सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान ?’
धितालको यो प्रतिक्रियाले जेनजी आन्दोलनको स्मृति कार्यक्रमको स्वरूप र त्यसको उद्देश्यबारे राजनीतिक वृत्तमा बहस थप चर्किने देखिएको छ।
धितालले फेसबुकमा लेखेको स्टाटस
Gen Z आन्दोलनको एक वर्ष पुग्यो भन्दैगर्दा मन यस्सै बिथोलिएको थियो। तर BICC अगाडि Gen Z सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि म अवाक छु । मलाइ कताकता लाग्यो हामीले Gen Z सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ।
मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन ,जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् तिनले के बुझे मलाइ थाहा छैन ।
जसले Gen Z को आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन्?सायद नेपाली समाजले पछिल्लो एक वर्षमा गुमाएको सबैभन्दा ठूलो कुरा नै अरुले के महसुस गरिरहेका छन भन्ने कुराको महसुस गर्नै नसक्ने , गर्नै नमान्ने , गर्नै नखोज्ने ।
पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ।
अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ? त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौं हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?
सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?


प्रतिक्रिया