अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह


सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उहाँले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिनुभएको हो ।

तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो। कोभिड-१९ को महामारीपछि बन्द भएर हाल सञ्चालन रहे पनि तातोपानीलगायत अन्य नाकाबाट आवतजावत सामान्य बन्न सकेको छैन ।

बैठकमा उहाँले दुई देशबीचको सम्बन्धलाई आजको स्तरमा ल्याउन सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्यसमेतको महत्वपूर्ण भूमिका रहेको र आगामी दिन उक्त सम्बन्ध अझ प्रगाढ तथा परिस्कृत बनाउन सङ्घीय संसद्ले कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो  ।

सभामुख सापकोटाले आर्थिक विकास, सांस्कृतिक जागरण र प्रविधिको विकासबाट चिनमा समग्र राष्ट्रिय शक्तिको निर्माणमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालका लागिसमेत विकास र समृद्धिको मार्गदर्शक हुनसक्ने अपेक्षा  गर्नुभयो ।

उहाँले कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले गरेको सफलता विश्वसमुदायका लागिसमेत उदारणीय रहेको बताउनुभयो । सभामुख सापकोटाले नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सुरुवआतदेखि नै चीनले उपलब्ध गराएको सहयोग तथा चीन सरकारबाट प्रदान गरिएको खोपलगायत अन्य स्वास्थ्य सामग्रीको सहयोगका  लागि चीन सरकारप्रति आभार प्रकट गर्नुभयो ।