काठमाडौं – यसवर्षको ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार’ काठमाडौँस्थित राससकर्मी नारायण ढुङ्गानालाई प्रदान गरिएको छ ।
पत्रकारितामार्फत ललितकलाको विकासमा महत्वपूर्ण योगदान पु¥याएकोमा स्मरण गर्दै उहाँलाई रु.११ हजार १११ रुपैयाँ पुरस्कार राशिसहित उक्त सम्मान प्रदान गरिएको हो । नेपाल ललितकला पत्रकार समाज (सोफाज नेपाल) ले हरेक वर्ष स्वर्गीय पत्रकार सिंहको स्मृतिमा उक्त पुरस्कार प्रदान गर्दै आए पनि गत वर्ष भने कोभिडका कारण कार्यक्रम स्थगित भएको थियो । सिंह विसं २०१६ पछि गोरखापत्रमा आवद्ध भएर नेपाली कला क्षेत्रको विकासमा योगदान गर्नुभएको थियो । उहाँ मधुपर्कको पनि सम्पादक हुनुभएको जनाइएको छ ।
यस्तै मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई ‘सोफाज–ललितकला पत्रकारिता सम्मान’ प्रदान गरिएको छ। सोफाजले ‘लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार’ भने कान्तिपुरका पत्रकार सुशीला तामाङलाई प्रदान गरेको छ ।
सबैलाई रु.११ हजार १११ पुरस्कार राशिसहित सम्मान गरिएको हो । काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्राडा भोला थापाले उहाँहरूलाई कदरपत्रसहित सम्मान प्रदान गर्दै कलाकलाका लागि नभई जीवनका लागि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “रङको संयोजन गर्नु भनेको इञ्जिनीयरिङ भाषामा प्रविधिको प्रयोग हो, कसरी रङको प्रयोग गर्नेपर्छ, कुनकुन रङ मिसाएर कस्तो रङ बनाउने भन्ने कुरा पनि प्राविधिक भएकाले समाजमा कलाको महत्व अहम छ ।”
प्राडा थापाले विश्वमा चिकित्सक, इञ्जिनीयरले देशलाई चिनाउन नसक्ने तर कला सिर्जनाले चिनाउने हुँदा यसको छुट्टै पहिचान रहेकाले इञ्जिनीयरिङ क्षेत्रमा कला संयोजन गर्ने प्रयास आफूले थालेको बताउनुभयो। सम्मानितका तर्फबाट भनाइ राख्नुहुँदै मधुपर्कका सम्पादक भट्टराईले स्व नारायणबहादुर सिंहको कला÷साहित्यमास्तरीय योगदान रहेको र उहाँ कला पत्रकारिता पायोनियर र समीक्षक भएको स्मरण गर्नुभयो ।
समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय लालकाजी लामा र रमेशनाथ खनालले ललितकला विकासमा स्व नारायणबहादुर सिंहले पु¥याएको योगदानको स्मरण गर्दै ललितकला र त्यसका कलाकारलाई प्रोत्साहन दिनमा सोफाजको योगदान महत्वपूर्ण रहेको सम्झना गर्नुभयो ।
अक्षश्वर परम्परागत बौद्ध कला महाविद्यालयका अध्यापक उदय बज्राचार्यले पत्रकारलाई सम्मान दिनु भनेको नेपाली ललितकला क्षेत्रकै सम्मान भएको अनुभव सुनाउनुभयो । कार्यक्रममा क्रोधकला शिरोमणि फाउण्डेसनका अध्यक्ष राकेश अवालेले ललितकलाको विकासमा यस विधाका पत्रकारको भूमिका अहम रहेको बताउनुभययो ।
आफ्नो बुला कालु कुमालेलाई क्रोधकला शिरोमणिका रूपमा परिचित गराउन पत्रकारको भूमिका ठूलो रहेको उल्लेख गर्दै उहाँले त्यसैलाई आत्मसाथ गरेर आमाको स्मृतिमा ‘लक्ष्मीमाया स्मृति ललितकला पत्रकारिता’ पुरस्कारका लागि योगदान गरेको जानकारी दिनुभयो ।
उहाँले कालु कुमालेलाई यो ठाउँमा पु¥याउने लक्ष्मीमायाको योगदान ठूलो छ भन्नुभयो । नेपाल ललितकला पत्रकार समाज (सोफाज नेपाल) का अध्यक्ष केशवराज खनालले स्वर्गीय सिंहले अघि सारेको गोरेटोमा अहिले ललितकला पत्रकार हिँडिरहेको उल्लेख गर्दै त्यसलाई सोफाजले संस्थागत गर्ने प्रयास गरेको बताउनुभयो ।
समारोहमा सोफाजका उपाध्यक्ष मधु शाही, महासचिव देवेन्द्र थुम्केली, सदस्य रामनाथ घिमिरेलगायतले कला सिर्जनाको विकासका लागि सोफाजको स्थापना गरिएको र पत्रकारिता विधामा ललितकला पत्रकारिता पनि महत्वपूर्ण छ भनेर चिनाउन सफल भएको बताउनुभयो । सोफाजले विसं २०७२ बाट प्रोत्साहनस्वरुप यसरी पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।







प्रतिक्रिया