हरिकृष्ण ब्यन्जनकार, ललितपुरमा एउटा असल राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनदेखिका हरेक आन्दोलनमा सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका एउटा अथक योद्धा हुनुहुन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको प्रमुखमा जित्दा जित्दै मतगणनाबाट हराइनुभएका ब्यन्जनकारलाई नेकपा (एमाले) ले यसपाली पार्टीबाट सर्वसम्मत उम्मेदवारका रुपमा अगाडि सारेको छ । प्रस्तुत छ, ब्यन्जनकारको राजनीतिक जीवन र निर्वाचनबारे उहाँसँगको संक्षिप्त कुराकानी :
स्थानीय तहको निर्वाचन आउन २६ दिन बाँकी छ । यो निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधिहरूको अग्निपरीक्षाको घडि हो । राम्रो काम गरेकाहरू दोहोरिने र नराम्रो काम गरेकालाई मूल्याङ्कन गरी बहिर्गमन गर्ने काम पनि यसै निर्वाचनले गर्नेछ । हाल ललितपुर महानगरपालिकाको मेयरको जिम्मेवारी रहनुभएका नेपाली काँग्रेसका चिरिबाबु महर्जनले जनताको इच्छा र चाहना अनुसार काम गर्न नसकेको ललितपुर महानगरवासीको गुनासो छ ।
आफ्ना सीमित व्यक्ति र संस्थाको लागिमात्र काम गरेको कारण उनको आलोचना हुँदै गएको छ । नेपाली काँग्रेसले नेतृत्व लिएपछि महानगर अस्तब्यस्त हँुदै गएको छ । नेपाली कांग्रेसको लोकप्रियता घट्दो क्रममा छ । त्यसैले अबको निर्वाचनमा आम नगरवासीको आशा र भरोसा एमालेले उठाउने उम्मेदवारमा छ । एकलाख २२ हजार मतदाता रहेको ऐतिहासिक नगरी ललितपुर महानगरपालिकामा नेमपा (एमाले) बाट सर्वसम्मत मेयरको उम्मेदवार सिफारिस हुनुभएका हरिकृष्ण व्यञ्जनकारले निर्वाचनमा बाजी मार्ने निश्चित छ ।
गएको निर्वाचनमा मतगणनामा नेपाली काँग्रेसले धाँधली गरेका कारण ३२६ मतले हार बेहोर्नुपरेका ब्यञ्जनकारले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउनुहुन्छ । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले मत गणना गर्दा धाँधली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा पर्दा अदालतले जिल्ला निर्वाचन कार्यालय ललितपुरसँग मत गणनाको फाइल झिकाएको थियो । त्यसबेला अदातलले ढिलो रिट दायर गरेको, प्रमाण पनि नपुगेको भन्दै नेपाली काँग्रेसका उम्मेदवार चिरिवावु महर्जनलाई जिताएको थियो ।
त्यसबेला टेक्निकल इररका कारण हार बेहोर्नुपर्यो, यो निर्वाचनमा करिब छहजार मत अन्तरले विजय हासिल गर्नेछौं– मेयरका उम्मेदवार ब्यञ्जनकारको भनाइ छ । महानगरका अधिकांश वडामा हाम्रो अवस्था बलियो छ । चोइटिएर गएको नेकपा एसको कुनै प्रभाव छैन । एसपार्टीका केही वडा अध्यक्षहरू एमालेले उठाइदिए यतै फर्किने सुरमा छन् । त्यसैले अहिलेको मूल्याङ्कन गर्दा ललितपुर महानगरवासी हाम्रो पक्षमा उत्रिएका छन् । जनतालाई हामीले व्यालेटमा मत चाहन्छौं भनेका छौं । पार्टीले जित्ने, टिक्ने र काम गर्नेलाई उम्मेदवार छनौट गरेको छ । त्यो आधार ललितपुर महानगरपालिकामा मेरो सर्वसम्मत निर्णय हुनु हो ।
एमालेले छ महानगरमध्ये सर्बसम्मत रूपमा ब्यञ्जनकारलाई पहिलो मेयरको उम्मेदवार घोषणा गरेको छ । २०१२ साल भदौ १३ गते जन्मिनुभएका ब्यञ्जनकारले सानैदेखि वामपन्थी विचारधारा बोक्नुभएको र अहिले नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट २०३८ सालमा व्यवस्थापन संकायबाट स्नातकोत्तर ( एमए) तहको अध्ययन पूरा गरेका ब्यञ्जनकारले कुशल राजनीतिज्ञको परिचय बनाउनुभएको छ ।
उहाँको राजनीतिक जीवन २०३५ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट शुरु भएको हो । २०३६ सालमा तत्कालीन नेकपा मालेसँग आबद्धता भएको थियो । नेपाल बैकमा कार्यरत रहँदा पार्टीसँग सम्पर्क, नियमित प्रशिक्षणमा सहभागी भएको इतिहास छ । वामपन्थी राजनीतिमा झण्डै साढे चार दशक पूरा गरिसकेका ब्यञ्जनकारले २०४६ सालको जन आन्दोलनमा ललितपुरबाट सक्रिय सहभागिता जनाउनुभएको थियो ।
त्यसबेला उहाँले ललितपुर जिल्लामा आन्दोलनको कमाण्डर नै भएर काम गर्नुभएको थियो । २०४६ को जनआन्दोलनमा ललितपुरमा अबाञ्छित तत्वको घुसपैठ हुन थालेपछि उहाँले नेतृत्व लिनुभएको थियो । त्यसपछि बनेको नगर सुरक्षा समितिको अध्यक्षको जिम्मेवारी पनि ब्यन्जनकारले पाउनुभएको थियो । २०४६ सालमा अखिल नेपाल किसान संघ ललितपुरको अध्यक्ष, ०४८ सालको संसदीय र ०४९ सालको स्थानीय निर्वाचनमा नेतृत्वदायी भूमिकामा काम गरेको उहाँको अनुभव छ ।
पार्टीमा निरन्तर सक्रिय रहेपछि उहाँले ललितपुर जिल्ला पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउन थाल्नुभयो । २०४९ सालदेखि उहाँले पार्टी नगर कमिटीको सचिव र जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाउनुभयो । उहाँसँग टनकपुर सन्धिको विरोधमा नेतृत्वदायी भूमिका खेलेको अनुभव छ । २०५० सालमा दासढुङ्गामा जननेता मदन भण्डारी र जिवराज आश्रितको षडयन्त्रपूर्ण हत्याभएपछिको आन्दोलनमा ललितपुर जिल्लाबाट ब्यन्जनकारले नेतृत्व गर्नुभएको थियो ।
उहाँले २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको संसदीय निर्वाचनमा पार्टीलाई जिताउन मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । ती निर्वाचनमा ललितपुर जिल्ला लाल किल्ला बनेको थियो । ललितपुरका तीनै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारको सानदार विजय हासिल भएको थियो ।
त्यसबेला निर्वाचनमा ब्यञ्जनकारले निर्वाह गर्नुभएको भूमिकाबाट उहाँको राजनीतिक यात्रामा सफलता प्राप्त हुँदै गयो । ०५४ सालको स्थानीय निर्वाचनमा जिल्लाको कमाण्डरको भूमिकामा रहेका ब्यन्जनकारसँग २२ वडा रहेको ललितपुर उपमहानगरमा उपमेयरसहित १५ वडा अध्यक्षलाई विजयी गराउन सफल भएको अनुभव छ । पार्टीमा निरन्तर लागेर महत्वपूर्ण जिम्मेवारी पाएका ब्यञ्जनकार २०५४ सालमा पार्टी विभाजन हुँदा विभाजनबाट कम क्षति गराउन सफल भएको वताउनुहुन्छ ।
०६२/०६३ सालको जनआन्दोलनमा जिल्ला सचिव रहेका ब्यन्जनकारले सो आन्दोलनमा ललितपुरबाट सक्रिय सहभागिता जनाउनुभयो । त्यस आन्दोलनमा उहाँले ४८ दिन जेल जीवन बिताउनुभयो । त्यसबेलाको अनुभवले उहाँको राजनीतिलाई झन् तिर्खादै लग्यो ।
ब्यन्जनकार २०६४ सालको निर्वाचनमा जिल्लाबाट निर्वाचन उप कमाण्डर र २०७० सालमा कमाण्डरको भूमिकामा हुनुहुन्थ्यो । उहाँ २०६५ सालमा आठौं महाअधिवेशन प्रतिनिधि र २०७० सालको जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित हुनुभयो । जिल्लामा हुने पार्टीको राजनीतिक आरोह र अवरोहबाट पाको भैसकेका ब्यञ्जनकारले २०७४ सालको संसदीय निर्वाचनमा जिल्लामा संघ र प्रदेशका नौवटै सिटमा पार्टीलाई सानदार विजय हासिल गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो ।
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि संयुक्त कार्यदलबाट जिल्ला अध्यक्षमा सिफारिस भई २०७५ देखि २०७७ सम्म ब्यन्जनकारले ललितपुर जिल्ला पार्टी अध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । २०७७ साल फागुनमा एमाले पुनःस्थापनपछि सो पार्टीको ललितपुर जिल्ला अध्यक्ष, २०७८ सालको दशाैं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका ब्यन्जनकार हाल ललितपुर जिल्लाको सह इन्चार्ज हुनुहुन्छ ।
व्यक्तिगत जीवन हेर्दा उहाँ किसानको छोरा ।
बुबाले छोरालाई उच्च शिक्षाको अवसर दिनुपर्छ भन्ने भावनापछि उहाँ अध्ययनको सिलसिलामा विराटनगर जानुभयो । अध्ययन पूरा गरेपछि आफ्नै घरछेउ ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति माबिको प्रधानाध्यापकका रूपमा अध्यापन थाल्नुभयो। २०४३ देखि २०६८ सम्म सो विद्यालयको व्यवस्थापन समितिको सदस्य हुँदै अध्यक्षको जिम्मेवारीमा रहेर शिक्षा क्षेत्रमा योगदान गर्नुभएको छ ।
०६४ सालमा सो विद्यालयले क्याम्पसको समेत स्वीकृत पायो । उहाँ क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष भएपछि क्याम्पसमा २४ कोठा सहित क्यान्टिन र १४ कोठाको होस्टल निर्माण भयो । संस्थागत जीवनमा उहाँ ०३२ सालमा श्रमिक शान्ति पुस्तकालयको अध्यक्ष, ०३९ सालमा च्यासल टोल सुधार समितिको सचिव, ०४१ सालमा उपाध्यक्ष हुँदै २०४३ देखि २०५० सालसम्म र २०५३ देखि २०५५ टोल सुधार समितिको अध्यक्ष हुनुभयो । ब्यन्जनकारसँग २०४७ सालमा गलैंचा उद्यमी संघ ललितपुरको अध्यक्ष भएको लामो अनुभव छ ।
सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यन्जनकारलाई पार्टीले ललितपुर महानगरको मेयरको उम्मेदवार बनाउने भएपछि उहाँ चुनावी तयारीमा लागिसक्नुभएको छ । क्षेत्रगत भेटघाटलाई तिब्रता दिनुभएको छ । यसैक्रममा उहाँले चुनावी नारा पनि तय गरिसक्नुभएको छ ।
(पत्रकार ईश्वर ढकालसँगको कुराकानीका आधारमा )







प्रतिक्रिया