अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको चार पालिकामा एमालेबाट प्रमुख-उपप्रमुख दुबै सर्वसम्मत

इलामको चार पालिकामा एमालेबाट प्रमुख-उपप्रमुख दुबै सर्वसम्मत


इलाम – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निम्ति इलामको चार पालिकामा नेकपा एमालेबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेका छन् ।

देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सर्वसम्मत सिफारिस भएका हुन् । उहाँहरू जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस भएका हुन् ।

सूर्योदय नगरपालिका प्रमुखमा हाल प्रदेशसभा सदस्य समेत रहेका काजीमान कागते र उपप्रमुखमा वर्तमान उपप्रमुख दुर्गादेवी भट्टराई सिफारिस भएका हुन् ।

कागते अघिल्लो निर्वाचनमा समेत पालिका प्रमुखको आकाक्षी थिए । तर, त्यसबेला उहाँले टिकट पाउनु भएन । त्यसपछि उहाँ प्रदेशसभाको उम्मेदवार भएर निर्वाचित भएका हुन् । एमाले उम्मेदवार बनेका रणबहादुर राई नगरप्रमुखमा निर्वाचित हुनु भयो । पार्टी विभाजनपछि राई नेकपा एकीकृत समाजवादीमा क्रियाशील छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा राईले १२९१९ मत पाएका थिए भने कांग्रेसका प्रेमलाल राईले १०३२९ मत पाएका थिए । यस अघिको निर्वाचनमा माओवादी केन्द्रका राजेन राईले १५४१ र संघीय समाजवादी फोरमका लीला बहादुर सुनुवारले १४७७ मत ल्याएका थिए ।

सत्तारुढ दलहरूबीच गठबन्धन गरेर चुनाव गर्ने निर्णयपछि दलहरू आन्तरिक छलफलमा छन् । त्यसैले सूर्योदयमा कांग्रेसको उम्मेदवार टुङ्गो लागेको छैन । सत्तारुढ दलहरूका बीचमा गठबन्धन गर्ने प्रयास जारी रहेपछि सूर्योदयमा कांग्रेसका १४ वटै वडाका वडा सभापतिहरूले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् ।

एमालेले उपप्रमुखमा हालकी उपप्रमुख दुर्गादेवी भट्टराइलाई नै सिफारिस गरेको छ । सूर्योदय नगर कमिटीका अध्यक्ष समेत रहनु भएकी भट्टराई २०७४ को निर्वाचनमा १२८९० मत ल्याएर उपप्रमुखमा निर्वाचित हुनु भएको थियो ।

यस्तै इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेबाट सूर्य पोख्रेल सर्वसम्मत सिफारिस भएका छन् । नगरपालिकाको वर्तमान प्रमुख पोख्रेललाई एमालेले दोहोर्‍याउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पोख्रेलले प्रमुखमा ७३४७ मत पाएर विजयी भएका थिए भने कांग्रेसका होम दुलालले ६३९० मत पाएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका रामकुमार राईले ९७६ मत प्राप्त गरेका थिए ।

एमालेले देउमाई नगरपालिकाको उपप्रमुखमा पनि पविमाया राईलाई नै दोहोर्‍याउन सिफारिस गरेको छ । पविमाया राईले गत निर्वाचनमा ७३८७ मत पाएर उपप्रमुखमा निर्वाचित हुनु भएको थियो । कांग्रेसको उम्मेदवार सूर्यमाया राईले ६३९० र माओवादी केन्द्रकी शान्ता बस्नेतले ११९३ मत पाउनु भएको थियो ।

एमालेले रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा समेत सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । रोङको अध्यक्षमा मेहरमान तामाङ सिफारिस भएका छन् । उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस हुनु भएको छ । यस अघिको निर्वाचनमा रोङको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

अध्यक्षमा समशेर राईले ३९८५ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए भने नेकपा एमालेबाट उम्मेदवार बनेका बृहस्पति खतिवडाले ३६७२ मत पाएका थिए । खतिवडा भने अहिले नेकपा एसमा क्रियाशील हुनुहुन्छ । अघिल्लो चुनावमा माओवादी केन्द्रका नवराज कट्टेलले ५९१ मत प्राप्त गरेका थिए ।

रोङ गाउँपालिकाको उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस हुनु भएको छ । उहाँ अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित हुनु भएको थियो । खवासले ३६६७ मत ल्याउँदा चन्द्रकला राईले ४१०२ मत पाएर उपाध्यक्षमा निर्वाचित हुनु भयो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रकी अञ्जना लेप्चाले ६३० मत प्राप्त गर्नु भएको थियो ।

यस्तै माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट हेमन्त राई सर्वसम्मत सिफारिस हुनु भएको छ । राई अघिल्लो निर्वाचनमा काँग्रेसका डिकेन्द्र इधिङ्गोसँग पराजित हुनु भएको थियो । यस अघिको निर्वाचनमा माङसेबुङ गाउँपालिकामा काँग्रेस र तत्कालीन संघीय समाजवादी फोरमकाबीच गठबन्धन भएको थियो । काँग्रेसले प्रमुखमा र संघीय समाजवादी फोरमले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

दश स्थानीय तहमध्ये अन्य ६ पालिकामा उम्मेदवार चयनको प्रक्रिया जारी छ । त्यस्तै ८१ वडा मध्ये अब १५/१६ वटा वडाको अध्यक्ष टुङ्गो लगाउन बाँकी रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिनु भयो ।