अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सक्षम जनप्रतिनिधिको पर्खाइमा मतदाता

सक्षम जनप्रतिनिधिको पर्खाइमा मतदाता


तम्घास – “निर्वाचनका वेला उम्मेदवार बन्दा नगरप्रमुखले निःशुल्क पानी खुवाउछु भन्नुभएको थियो”, गुल्मीको रेसुङ्गा नगरपालिका-६ का केशव मरासिनीले भन्नुभयो, ‘तर, मैले अहिले पनि पानीको बिल बुझाइरेको छु ।” निर्वाचनका समयमा विभिन्न राजनीतिक दल र त्यसका नेताले एउटा कुरा बोल्ने तर निर्वाचनपछि अर्कै व्यवहार गर्ने गरेकाले आफूहरु समस्यामा परेको उहाँको भनाइ छ । 

रेसुङ्गा नगरपालिका–७ का टीकानिधि पन्थीले वडामा सडक बत्तीका सामग्री आएको धेरै महिना भइसेकेको भएपनि हालसम्म त्यसको सदुपयोग भइसकेको छ । “सरकारी सम्पत्तिको यसरी दुरुपयोग भइरहेको छ”, उहाँले भन्नुभयो, “यसको अनुगमन तथा मूल्याङ्कन कतैबाट नहुनु दुःखद् कुरा हो ।” उहाँले अब आउने जनप्रतिनिधिले सबैको भावना बुझेर काम गर्नुपर्ने बताउनुभयो । वडा वा पालिकामा जाँदा राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने जनप्रतिनिधिको खाँचो रहेको उहाँको भनाइ छ । सबै जनताको भावना बुझेर इमान्दारीपूर्वक काम गर्न सक्ने जनप्रतिनिधिलाई मत दिनुपर्ने उहाँको चाहना छ । 

‘सडक चाहियो’

गत स्थानीय तहको निर्वाचनमा सबैजसो राजनीतिक दलले भावनामा बगेरै घोषणापत्र तयार गरे । स्थानीय तहमा आउने स्रोत र साधनको आँकलन नगरीकनै बढी मत ल्याउने उद्देश्यले निर्वाचनमा नागरिकलाई धेरै आश्वासन पनि देखाए । तर, निर्वाचनपछि ती आश्वासन पूरा गर्न नसक्दा नागरिक निराश भेटिन्छन् । “निर्वाचनका बेला बाटो ल्याइदिन्छाँै भन्नुभएको थियो र भोट दिइयो”, इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मका लीलबहादुर मुखियाले भन्नुभयो, “गाउँमा बाटो पुग्ने कुरा आकाशको फल, आँखा तरि मर जस्तै भयो ।” 

विगत पाँँच वर्षको अवधिमा बिजुली र पानी पुगेपनि बाटो नपुगेकाले धेरै असुविधा भइरहेको उहाँको भनाइ छ । अब आउने निर्वाचनमा आफ्नो गाउँमा सडक पु¥याइदिने दल र उम्मेदवारलाई मात्र भोट दिने उहाँले बताउनुभयो । त्यसका साथै स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट दिनुपर्ने उहाँको बुझाइ छ ।    

टिन दिनेलाई भोट

स्थानीय तह गठन भएपछि पालिकाहरुले धमाधम खरका छाना विस्थापन गर्न थाले । चन्द्रकोट गाउँपालिकाले चार वर्षअघि खरका छाना विस्थापन गर्ने निर्णय ग¥यो । तर, गाउँपालिकाको वडा नं १ दिब्रुङका टेकबहादुर कामीले अहिलेसम्म पनि टिन पाउनुभएको छैन । “पहिले टिन दिने भनेर सबै कागजपत्र बुझायौँ, टिन दिने आश्वासन पनि दिए”, उहाँले भन्नुभयो, “तर, अहिले टिन छैन भनेर रित्तो हात फर्काए ।” उहाँले वर्षायाममा घर चुहिएर समस्या हुने भए पनि जनप्रतिनिधिले आफूहरुको कुरा नसुनेको गुनासो गर्नुभयो । 

उहाँसँगै पाँच परिवारले टिन पाएका छैनन् । अब निर्वाचन आएकाले उनीहरुले टिन पाउने सम्भावना पनि छैन । दिबु्रङकै कृष्णबहदुर कामीले जसले टिन दिन्छ, उसैलाई भोट दिन्छु भन्नुभयो । “अब निष्पक्ष ढङ्गले काम गर्ने उम्मेदवारले जित्नुपर्छ”, उहाँले भन्नुभयो, “सत्तामा पुग्नेले सबै नागरिकको समस्यालाई नजिकबाट आकलन गर्नुपर्छ ।” आफूहरुका गुनासो सुन्ने, पानी, बिजुलीलगायतका विषयमा सहजीकरण गर्ने व्यक्तिले निर्वाचनमा जित्नुपर्ने कामीको भनाइ छ । “हिउँदमा आगलागीको डर छ, वर्षायाममा चुहिएर बस्नै हुँदैन”, उहाँले भन्नुभयो, “अबको निर्वाचनमा टिन दिनेलाई भोट दिन्छौँ ।”

कति कार्यन्वयन भए विगतका एजेन्डा ? 

विभिन्न राजनीतिक दलको २०७४ सालको चुनावी घोषणा–पत्रमा रेसुङ्गा नगरपालिकामा पाँचवर्षमा तम्घासदेखि प्रत्येक वडाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने उल्लेख गरेको थियो । सबै वडालाई समेट्ने रेसुङ्गा चक्रपथको निर्माण गरी कालोपत्र गर्ने उल्लेख गरे पनि अहिलेसम्म रेसुङ्गाका दुई वटा वडा कार्यालयसम्म मात्रै पक्की सडक पुगेको छ । बाँकी १२ वडा कार्यालयसम्म जोड्ने सडकमा कालोपत्र भएको छैन ।

त्यस्तै नगर बस सञ्चालन गर्ने घोषाणा गरि पनि त्यो कार्यान्वयन हुन सकेको छैन् । वडाका सबै स्वास्थ्यचौकीमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन र सबै वडामा एम्बुलेन्स सेवा सञ्चालन गरिने घोषणापत्रमा उल्लेख गरिएको भएपनि हालसम्म हालसम्म एउटा वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । 

मुसिकोट नगरपालिकामा विजयी भएको (नेकपा एमाले)ले छ ठाउँमा पक्की पुल र आवश्यक सबै ठाउँमा झोलुङ्गे पुल राख्ने प्रतिबद्धता गरेको थियो । प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने र ग्वादीका चौरमा क्षेत्रीयस्तरको रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता जनाएर एमालेले युवाका भोट तानेको थियो । सबै वडामा दुई÷दुईवटा बाल उद्यान निर्माण गर्ने, आँपचौरदेखि वामीसम्म र दोभानदेखि राक्सेसम्म नमूना बस्तीको विकास गर्ने, डम्पिङ साइट बनाउने, वृद्धाश्रम बनाउने, पालिकाभित्रै स्नातकोत्तरसम्मको पढाइको व्यवस्था गर्ने एमालेका घोषणापत्रको मुख्य प्रतिबद्धता हुन् । 

अहिलेसम्म एउटा मात्रै पक्की पुल सम्पन्न भएको छ भने बाँकी तीनवटा  निर्माणाधीन छन् । झोलुङ्गे पुल तीनओटा निर्माण सम्पन्न भए । सबै वडामा खेलमैदान भए पनि व्यवस्थित नभएको वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले स्वीकार गर्नुभयो । नगरपालिकाले अहिलेसम्म एउटा पनि बाल उद्यान बनाउन सकेको छैन । नमूना बस्ती, वृद्धाश्रम र डम्पिङ साइड एमाले मुसिकोटको लागि चुनाव जित्ने नारा मात्रै सावित भएको छ । अहिलेसम्म काम नहुनुले पनि यसलाई पुष्टि गर्छ । 

एमाले छत्रकोट गाउँपालिकाले १२ कक्षासम्मको पढाइ निःशुल्क गर्ने, रोजगारमूलक शिक्षा प्रदान गर्ने, सबै वडामा बालविकास केन्द्रको स्थापना गर्ने, प्राविधिक विद्यालयको स्थापना गर्ने लगायतका आश्वासन देखाएर विद्यार्थी एवं उनका अभिभावकको भोट लियो । सबै वडामा प्रसूति केन्द्रको स्थापना गर्ने, एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने, छ÷छ महिनामा स्वास्थ्य परीक्षण गराउने, लक्षित वर्गलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने एमालेका चुनावी नारा हुन् । 

सबै सडक कालोपत्र गर्ने, गाउँपालिकाभित्र सार्वजनिक यातायात सञ्चालन, सबै ठाउँमा स्टिल पोल राख्ने, सूचना केन्द्रको स्थापना गर्ने पनि एमालेको चुनावी नारा हो । यिनै प्रतिबद्धताको आधारमा गाउँपालिकामा मधुकृष्ण पन्थको नेतृत्वमा रहेको समूह विजयी भयो । तर, अहिलेसम्म जनप्रतिनिधिले आफ्नो घोषणापत्र पनि हेरेका छैनन् । जसले गर्दा कामले गति लिन सकेको छैन । छत्रकोटमा हर्दिनेटा लगायतका स्थानमा एम्बुलेन्स सुविधासमेत छैन भने कतिपय स्वास्थ्य संस्थाका आफ्नै भवनसमेत छैनन् । यसले गर्दा सेवा प्रवाहमा  कठिनाइ भएको छ ।

मालिका गाउँपालिकामा विजयी भएको एमालेले पनि आफ्ना चुनावी वाचा पूरा गर्न सकेको छैन । एमालेले गाउँपालिकाभित्रै रेडियो सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरेपनि उक्त विषय गाउँपालिकाको नीति तथा कार्यक्रममै परेको  छैन । निर्वाचनका बेला पालिकाभित्रै बहुमुखी क्याम्पस स्थापना गर्ने एमालेको घोषणा–पत्रमा उल्लेख छ । तर, एमालेकै नेतृत्वमा सरकार गठन भएको चौँथो वर्षमा गाउँपालिकाले वार्षिक दुई लाखमा रेसुङ्गा बहुमुखी क्याम्पससँग अध्ययन सम्झौता गरेको छ । संस्कृति र पर्यटन विकासको लागि गाउँपालिकाले अर्खबाङमा केबुलकारको सम्भाव्यवता अध्ययन गर्ने भने पनि अहिलेसम्म कुनै अध्ययन नगरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले स्वीकार गर्नुभयो ।

 खामलेकमा भ्यूटावर निर्माण गर्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म कामको सुरुआत भएको छैन । 

कांग्रेसको पनि उस्तै ताल 

 नेपाली कांग्रेस सत्यवती गाउँपालिकाले आम्दानीको स्रोत वृद्धिको लागि खानी तथा खनिजको उत्खनन गर्ने चुनावी वाचा राखेको थियो । सत्यवतीमा कांग्रेसले सरकार पनि बनायो । तर, अहिलेसम्म त्यसको लागि सम्भाव्यवतासमेत अध्ययन गरेको छैन । 

रुद्रावती नदी लगायतका नदीमा हाइड्रोको सम्भाव्यता गर्ने लक्ष्य कांग्रेसले राखेपनि अहिलेसम्म कुनै काम नभएको वडा नं– ३ का अध्यक्ष रुकबहादुर रानाले स्वीकार गर्नुभयो । 
एक वडामा एक पुस्तकालय बनाउने, गरिबको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने कांग्रेस सत्यवतीको चुनावी वाचा वाचामै सीमित भएको छ । उक्त योजनाको लागि न त नीति तथा कार्यक्रम बनाइएको छ, न त बजेट नै विनियोजन भएको छ । निर्वाचनपछि गाउँपालिकाको नीति तथा योजनामार्फत संस्थागत गर्नुपर्ने योजना नीति तथा कार्यक्रममा पनि अटाएका छैनन् ।  

चन्द्रकोट गाउँपालिकाभित्रका विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने कांग्रेसको प्रमुख चुनावी नारा थियो । सार्वजनिक पुस्तकालय, अक्सिजनसहितको एम्बुलेन्स सञ्चालन, युवालाई कुलतबाट जोगिने तालिम सञ्चालन, वृद्धाश्रम निर्माण, प्रत्येक वडामा फराकिला खेलमैदान र सभाहल बनाउने कांग्रेसको चुनावी प्रतिबद्धता थियो । तर, निर्वाचित भइसकेपछि चुनावी वाचाअनुसार काम गर्न नसक्दा नागरिकको आशा निराशामा परिणत भएको छ । 

यी त केही उदाहरण मात्रै हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । जसमा नेकपा एमालेको तर्फबाट सात पालिकामा अध्यक्ष र नौ पालिकामा उपाध्यक्ष विजयी भएका थिए । काग्रेसबाट चार पालिकामा अध्यक्ष र दुई पालिकामा उपाध्यक्ष, नेकपा (माओवादी केन्द्र)बाट एक पालिकामा अध्यक्ष एवं राष्ट्रिय जनमोर्चाबाट एक पालिकामा उपाध्यक्ष निर्वाचित भएका थिए । गाउँपालिकाका अध्यक्ष सबै पुरुष छन् भने उपाध्यक्षमा ११ महिला र एकजना पुरुष छन् ।

त्यसैगरी वडाध्यक्षतर्फ एमालेबाट ५९, कांग्रेसबाट २९, माओवादी केन्द्रबाट चार र राष्ट्रिय जनमोर्चाबाट एकजना विजयी भएका थिए । निर्वाचित वडाध्यक्ष सबै पुरुष छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकामा कूल ५१५ जनप्रतिनिधि निर्वाचित भएका थिए । तीमध्ये एमालेबाट महिला १२८ र पुरुष २०८ गरी ३३६, कांग्रेसबाट ६६ महिला र ९१ पुरुष गरी १५७, माओवादी केन्द्रबाट पाँच महिला र नौ पुरुष गरी १४ तथा राष्ट्रिय जनमोर्चाबाट तीन महिला र पाँच पुरुष गरी आठजना छन् ।

निर्वाचित अधिकाशं पालिकाका विजयी दलले आफ्नो घोषणापत्र फर्केर नहेर्दा कामले गति लिनसकेका छैनन् । गुल्मीदरबार र कालीगण्डकीमा भने कांग्रेसले घोषणापत्र नै नबनाइकन मौखिक प्रतिबद्धताका आधारमा चुनाव जितेको थियो । रुरुक्षेत्र, मदाने, धुर्कोटलगायतका पालिकामा पनि सम्बन्धित दलको प्रतिबद्धताअनुसार काम भएका छैनन् । त्यति हुँदाहुँदै पनि जिल्लामा भौतिक संरचनाका हिसाबले धुर्कोट गाउँपालिका अगाडि रहेको छ । 

प्रतिपक्ष पनि रमिते बने

विजयी भएका दलहरुले काम गर्न नसक्दा प्रतिपक्षी दलहरुले खबरदारी गर्नुपर्ने हो । तर जिल्लामा केही पालिकाका प्रमुख प्रतिपक्षी दलले बाहेक अन्य पालिकामा प्रतिपक्षी दल पनि रमिते बने । कांग्रेसले इस्मा, मुसिकोट र रेसुङ्गा नगरपालिकाले गरेको गलत कामको विरुद्ध छिटफुट आवाज उठायो ।

 तर, जनताको जीवनस्तर, कोभिड नियन्त्रण, विकास निर्माण, अनियमितता लगायतका विषयमा प्रतिपक्षी दललेसमेत पाँच वर्षसम्म विषय नै नउठाएको पत्रकार महासङ्घ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताउनुभयो । “सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्ष दल नै रमिते बने”, उहाँले भन्नुभयो, “स्थानीय तहको गठनपश्चात धेरै राम्रा काम भए पनि जनअपेक्षाअनुसार काम भएको छैन ।” 

पालिकाले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्न खोजे पनि निर्वाचनका बेला ठूला आश्वासन देखाउँदा नागरिकमा निराशा छाएको उहाँको भनाइ छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक वुद्धि जिसीले जनप्रतिनिधिलाई पार्टीको तर्फबाट सुझाव दिएको बताउनुभयो ।

काम गर्दै छौँ : स्थानीय सरकार

सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले भौगोलिक कारणले धेरै योजना पूरा गर्न नसकेको बताउनुभयो । खनिज उत्खनन, रिङरोड, हाइड्रोलगायतका योजना पूरा गर्न प्रयास गरे पनि सम्भव नभएको उहाँको भनाइ छ । 

इस्मा गाउँपालिका प्रमुख लक्षमण विष्टले निर्वाचनमा बोलेकामध्ये ७५ प्रतिशतभन्दा बढी काम भएको दाबी गर्नुभयो । रिङरोडका लागि यो वर्ष ट्र्याक खोलेर सकिएको, कृषि उपज सङ्कलन केन्द्र छल्दिमा बनाउँदै गरेको, भ्यू टावरका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले स्टिल पोलको लागि प्रदेशले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । रेडियो र क्याम्पसका लागि सम्भाव्यवता अध्ययन गरे पनि गाउँमा चल्न नसक्ने भएकाले स्थापनातर्फ नलागेको उहाँको भनाइ छ ।