अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऐतिहासिक बोकाचोगढीदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै

ऐतिहासिक बोकाचोगढीदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै


भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ऐतिहासिक बोकाचोगढी अचेल आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । 

पाँच वर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढी जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिएपछि अचेल आन्तरिक गन्तव्य बन्न थालेको हो । 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि बङ्कर बनाएर बसेको २१०० फिट माथिको उचाइमा रहेको यो गढीमा वडाध्यक्ष किरण थापाले सडक नै निर्माण गरिदिएपछि अहिले आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको हो । सडक एवं पूर्वाधारको विकाससँगै आन्तरिक पर्यटकको आगमन बढेपछि यहाँका बासिन्दाको आम्दानीको स्रोतसमेत बढेको छ भने स्थानीयस्तरमै रोजगारीको अवसर जुट्न थालेका छन् ।

पाँच वर्ष अगाडिसम्म पैदल हिँड्ने सजिलो गोरेटो बाटोसमेत नभएर जङ्गलको ठाडो बाटो हिँड्नु पर्ने यहाँका अधिकांश लामा बस्तीका बासिन्दा यतिखेर भने छ मिटर फराकिलो सडकमा हुइकिन पाएपछि दङ्ग पर्न थालेका छन् । नेपाल एकीकरणका क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि पृथ्वीनारायण शाहले यहाँको आशापुरेश्वर महादेव मन्दिरमा दर्शन गरी बोकाचोगढीमा आएर बङ्कर बनाएर बसी भक्तपुरलाई हेर्दै यहाँको आक्रमणको योजना बनाएर भक्तपुरमाथि विजयी हासिल गरेकोे ऐतिहासिक कथन रहेको वडाध्यक्ष किरण थापाले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “विगतमा यो ठाउँ निकै ओझेलमा परेको थियो, यो रमणीय ठाउँ जहाँबाट सिङ्गो भक्तपुरमात्र नभई, उपत्यका र हिमाली दृश्य देख्न सकिन्छ । यो ऐतिहासिक ठाउँ भए पनि निकै ओझेलमा परेको ठाउँलाई हामी आएपछि गढीँसम्म आइपुग्ने सडक निर्माण गर्न सफल भयौँ, अहिले टावर बनिसक्यो, मन्दिर बन्दैछ ।” बोकाचोगढीमा वडाले सडक पु¥याएपछि नेपाली सेनाले टावर बनाइदिएको छ । गढी आफैँमा टावर हो, त्यसमाथि पनि सेनाले टावर बनाइदिएपछि उपत्यकाको मनोरम दृश्य छर्लङ्ग देखिने भएपछि आन्तरिक पर्यटकको आगमन बढेको हो । आज यहाँ निकै भीड लाग्ने गरेको छ । 

नगरपालिकाले टावर नजिकै विन्ध्यवासिनी मन्दिर निर्माण गरिरहेको छ । वडाले यो ठाउँलाई पिकनिक स्पोर्टका रुपमा विकास गरेको र नगरपालिकाको लगानीमा सार्वजनिक शौचालय निर्माण गरेको छ । यहाँ अझै धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गढीको भित्र रहेको बङ्कर अहिले पुरिएको छ । यो उत्खनन्को पर्खाइमा छ, ऐतिहासिक एवं पुरातात्विक सम्पदा जथाभावी उत्खनन गर्नु पनि भएन, नेपाली सेनाले उत्खनन गर्ने कुरा गरिरहेको छ, पुरातत्व विभागले उत्खननमा पक्कै ध्यान दिनुपर्ने आवश्यकता छ ।” 

बङ्करमाथि पुराना र ऐतिहासिक इँटा तथा ढुङ्गा अहिले पनि भेटिन्छन् । यसको संरक्षण आवश्यक रहेको छ । नगरपालिकाले संरक्षणको योजना बनाइरहेको उहाँले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिको सदस्य हुँदा थापाकै पहलमा सडक निर्माण गरेर सिपाडोल, पाटी भञ्ज्याङमा सडक उद्घाटनका क्रममा पहिलो पटक गाडी जाँदा गाडीलाई समेत फूलमालाले स्वागत गरेको यो ठाउँमा अहिले पक्की सडक बनेका छन् ।

सिपाडोलमा रु तीन करोड ५० लाखको लागतमा घ्याम्पे डाँडाबाट पाटी भञ्याङ, आशापुरी, कुशादेवी छ किलोमिटर सडक, रु ५० लाखको लागतमा घ्याम्पेडाँडा रानीकोट सडक, पाटी भञ्ज्याङबाट बोकाचो गढीसम्म जान सडकको नयाँ ट्र्याक खोल्दै नालीसहितको सडक निर्माण गर्न सफल भएपछि स्थानीयको मुहार सधँै हास्न थालेको छ । लामा बस्तीले भरिएको यो ठाउँका स्थानीयवासी सन्तबहादुर तामाङले यो ठाउँको मुहार फेरिएला र यहाँको बस्तीमा खुसी आउँला भन्ने सोच्नै नसोचेपछि जनप्रतिनिधि आएपछि यो ठाउँले मुहार फेरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “बोकाचो गढीको केही प्रचार थिएन, यहाँ बाहिरबाट मान्छे आउदैनथे, बरु मकै, कोदो, आलु खान बँदेल आउथे, हिँड्ने फराकिलो बाटो थिएन, भारी बोकेर साँघुरो उकालो बाटो हिँड्नुपर्दा टाउकोबाट मात्रै हैन, पैतालाबाट पनि पसिना आउँथ्यो, हेर्दा हेर्दै पाँच वर्षमै यहाँको मुहार फेरियो, हाम्रो अनुहारमा खुसी लिएर आयो ।” वडाअध्यक्ष थापाको पहल र बजेट व्यवस्थापनमा सडक बनेपछि अहिले आम्दानीको स्रोत बढ्न थालेको यहाँका बासिन्दा बताउँछन् । स्थानीय कूलबहादुर तामाङले अचेल यहाँ रमाउन, यहाँको लोकल कुखुरासँग ढिँडो खान टाढाबाट मानिस आउनेक्रम बढेको, चिया, खाजा बिक्री हुन थालेकाले स्थानीयवासीको आम्दानीको स्रोत गाउँमै आउन थालेको बताउनुभयो ।
    
त्यसैगरी डोलेश्वरबाट मालीगाउँ जाने र काँक्राबारी जाने चार किमी सडक बनेपछि ओझेलमा परेको मालीगाउँसमेत पर्यटकीय गन्तव्य बनेको छ । माली गाउँमा होटल खुल्न थालेको, आन्तरिक पर्यटकको आगमन बढेको वडाध्यक्ष थापा बताउनुहुन्छ । रानीकोटका दीपक सापकोटा रानीकोट, पाटी भञ्ज्याङ, काभ्रेको कुशादेवी जोड्ने सडक, बोकाचोगढी जाने सडक, मालीगाउँ काँक्राबारी जाने सडक बनेसँगै पिछडिएको यहाँको बस्तीको मुहारमा खुसी आएको स्थानीयवासीको भनाइ छ ।