अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङका १५ पालिकाकामा एमाले उम्मेदवारको टुंगो

मोरङका १५ पालिकाकामा एमाले उम्मेदवारको टुंगो


मोरङ – नेकपा (एमाले) ले मोरङका १५ वटा पालिकाका उम्मेदवारको टुंगो लगाएको छ । १७ वटा पालिका रहेको मोरङमा विराटनगर महानगरपालिकाको उम्मेदवार भने पार्टीको केन्द्रीय कमिटीले टुंग्याउने छ । बेलबारी नगरपालिकाको प्रमुखका विषयमा छलफल चलिरहेको र टुंगोमा पुग्न बाँकी रहेको एमाले मोरङका सचिव रूपेश खतिवडाले जानकारी दिए ।

उनका अनुसार बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी र डीपी राईबीचमा कसलाई उम्मेदवार बनाउने भन्ने छलफल जारी छ । उपप्रमुखमा भने गंगा श्रेष्ठलाई उम्मेदवार बनाउने यकिन भएको उनको भनाइ छ । खतिवडाले आइतबार बिहान ११ बजेसम्म १५ वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै पदका उम्मेदवारको टुंगो लगाइसकिएको बताए ।

एमालेले मिक्लाजुङ गाउँपालिकामा अध्यक्षको उम्मेदवार नरेन्द्र ढुंगेल र उपाध्यक्षको उम्मेदवार निर्मला राईलाई बनाउने भएको छ । केराबारी गाउँपालिकामा सुमन मिरिङदेन प्रमुख तथा मनमाया मगर उपप्रमुखका उम्मेदवार बन्ने भएका छन् ।

कानेपोखरी गाउँपालिका अध्यक्षमा राजमती इङ्नाम र उपाध्यक्षमा भोला अधिकारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । धनपालथान गाउँपालिका अध्यक्षको टिकट मुसहरु मण्डल र उपाध्यक्षको टिकट उपासीदेवी राजवंशीले पाएका छन् । जहदा गाउँपालिकाको अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेनलाई उठाउने निर्णय एमालेको छ ।

ग्रामथान गाउँपालिका अध्यक्षको टिकट शिवनारायण माझी र उपाध्यक्षको टिकट गुणवती धामीले पाएका छन् । बूढीगंगा गाउँपालिकामा अध्यक्षको टिकट बलभद्र सरदार र उपाध्यक्षको टिकट तुलसा कुँवर विष्टलाई दिइएको छ । कटहरी गाउँपालिकामा सुवास सरदार अध्यक्ष र सीता राजवंशी उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

एमालेले उर्लाबारी नगरपालिका प्रमुखमा गंगा खरेल र उपप्रमुखमा मीना पौडेललाई उठाउने भएको छ । रतुवामाई नगरपालिका प्रमुखको टिकट दुर्गा विष्ट र उपप्रमुखको टिकट दमयन्ता चुडालले पाएका छन् । सुनवर्षीमा श्याम राजवंशी मेयर तथा मीरा दास उपमेयरको उम्मेदवार बनेका छन् । पथरीशनिश्चरे नगरपालिका प्रमुखको टिकट मोहन तुम्बापो र उपप्रमुखको टिकट देवीमाया काफ्लेलाई दिइएको छ ।

लेटाङ नगरपालिका प्रमुखमा भुपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौला उठ्ने भएका छन् । सुन्दरहरैँचा नगरपालिका प्रमुखको टिकट केदार गुरागाईं र उपप्रमुखको टिकट अकली चौधरीलाई दिइएको छ । एमालेबाट रंगेली नगरपालिकामा दिलीप बगडिया मेयर र भुमा पराजुली उपमेयरका उम्मेदवार बन्ने भएका छन् ।