अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा चुनावी सुरक्षा चुस्त

बागलुङमा चुनावी सुरक्षा चुस्त


बागलुङ – चुनावलाई स्वच्छ र भयरहित बनाउन यहाँ सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारेको छ । 

विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दुरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले मतदान केन्द्रको भित्रि सुरक्षामा जनपद र म्यादी प्रहरी खटिने बताउनुभयो । बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहने उहाँको भनाइ छ । “जिल्लाभर गरी झण्डै एक हजार जति म्यादी र सात सय बढी नेपाल प्रहरी सुरक्षामा खटिँदैछन्, शनिबारसम्ममा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसक्छन्”, उहाँले भन्नुभयो ।  

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिने जनाइएको छ। समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित सुरक्षा निकायका पदाधिकारीले सबै मतदान केन्द्रको स्थगलत अध्ययन गरेपछि चुनावी सुरक्षा योजना बनाइएको बताउनुभयो । 

अहिलेसम्म दलका चुनावी अभियान शान्तिपूर्ण रहेको र चुनाव विरोधी गतिविधि कतैपनि नदेखिएको प्रहरी उपरीक्षक ज्ञवालीले उल्लेख गर्नुभयो । “केही दलले चुनाव बहिष्कार गर्ने निर्णय गरेको सुनिएपनि बागलुङमा त्यस्तो कुनै प्रभाव देखिएको छैन”, उहाँले भन्नुभयो । 

सुरक्षा प्रबन्ध सृदढ पारिएकाले निर्धक्कसँग मतदान केन्द्रमा पुगी आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले मतदान केन्द्र केन्द्रित तयारी सुरु भएको बताउनुभयो । उहाँका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन् । 

मतदान अधिकृतसहित जनशक्तिको व्यवस्थापन, खटनपटनलगायत चुनावको व्यवस्थापकीय काममा आफूहरु लागिपरेको रिजालको भनाइ छ ।  जिल्लामा एक सय तीन मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन् । एक लाख ९३ हजार ६२५ मतदाता छन् । जसमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । आठ दिनपछि स्थानीय तह चुनावको मतदान छ। दल र तिनका उम्मेदवारलाई चुनावी प्रचारमा भ्यानभ्याइ छ । मतदानको दिन नजिकिँदै गर्दा चुनावी माहोल थप गर्माएको छ ।