चितवन – निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ ।
नेकपा माओवादी केन्द्रनिकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।
निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताउनु भयो । उजुरी आए कारबाही गर्न सकिने उहाँले जानकारी दिनु भयो ।
‘निर्वाचनको बेलामा भूमिहीन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टीकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गर्नुभयो । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उहाँले दाबी गर्नुभयो । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे थाहा भएन’, उहाँले भन्नुभयो, ‘मैले लालपुर्जा बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’
शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै उहाँले भूमिहीन सुकुम्बासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको बताएका छन् । मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता आएको उहाँले दाबी गर्नुभयो ।
मतदाता प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरू विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी हाल्ने तयारी गर्नु भएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी हाल्न लागेको जानकारी दिनुभयो ।







प्रतिक्रिया