अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘राजविराजका महिलाहरूको हक र अधिकारका लागि लड्छु’

‘राजविराजका महिलाहरूको हक र अधिकारका लागि लड्छु’


पहिलो पटक चुनावी मैदानमा होमिएको जनमत पार्टी आफैमा नयाँ छ । पूर्वी तराईमा निकै राम्रो पकड बनाउँन सफल भएको यो पार्टीका संयोजक डाक्टर सिके राउत छन् । सिके राउतको आफ्नै राजनीतिक इतिहास पनि छ । सप्तरी राजविराज नगरपालिकामा यस पार्टीले मेयर र उपमेयरको रूपमा महिलालाई अगाडी सारेको छ । त्यसैले पनि यस क्षेत्रमा जनमत पार्टी के गर्ला भन्ने आम जनमानसमा निकै नै चासोको विषय बनेको छ । चुनावी मैदानमा होमिनुभएकी जनमत पार्टीकी सप्तरी राजविराज नगरपालिकाकी मेयरको उम्मेदवार ममता झासँग चुनावकै सोरोफोरमा रहेर गरेको कुराकानीः

राजनीति मै किन होमिनु भयो त ?
राजनीतिमा सानैदेखि नै लगाव थियो । समाजमा भएको विभेदको बारेमा मैले आफ्नो बुबालाई भन्ने गर्थे । यो समाजमा भएको हरेक गरिबलाई पैसा दिनुपर्छ । तर मेरो बुबा भन्नुहुन्थ्यो, ‘यो समाजमा पैसा दिएर मात्र पनि समस्याको समाधान हुन सक्दैन ।’ अधिकार पनि आवश्यक पर्ने भएकोले म राजनीतिमा होमिएकी हुँ । वुबा भन्नुहुन्थ्यो ‘राजनीतिमा हामिएपछि ठूलो ठूलो विकासको कार्य पनि गर्न सक्छौं ।’ सबैभन्दा पहिला टोल, गाँउ त्यसपछि नगर, जिल्ला हुँदै हामी राष्ट्र सम्म पुग्न सक्छौं । मेरो बुबा पनि राजनीतिज्ञ हुनुहुन्थ्यो । साही प्रेरणाबाट म पनि राजनीतिमा आएकी हुँ ।

भावी मेयरको रूपमा आफुलाई कसरी सक्षम सावित गर्नुहुन्छ ?
मैले राजनीति गरिरहेको थिए । अन्य पार्टीको क्रियाकलाप मलाई चित्त बुझ्दो लागेन । सिद्धान्त अर्कै र व्यवहार अर्कै । त्यसैले म जनमत पार्टीतर्फ आकर्सित भए । तराईमा भएका शोषित, जनजाति, उत्पीडन बर्गको वकालत जुन तरिकाले हुनुपर्ने थियो सोही अनुसार भएकै थिएन । त्यसैले म त्यसवखत राजनीतिबाट टाढा र जनतासँग घुलमिल भईरहेको थिए । यसै क्रममा डाक्टर सिके राउत जो बैज्ञानिक, बिद्धान तथा आफ्नो पेशाको साथै सेवा सुविधाहरू छोडेर यही शोषित पिडित, जनजातिहरूको लागि केही गरौं भन्ने चाहना लिएर यहाँ आउनुभयो त्यो वास्तममा सार्थक थियो । यस्ता उत्पीडन बर्गको लागि केही गरौं, अरुबाट हैन निति तथा कानुन परिमार्जनबाटै गरौं भन्ने विषेश जनमत लिएर आउनुभएको छ ।

यो समग्र तराईबासीका लागि हर्षको कुरा हो । जनमत पार्टीको मुख्य कार्य नै शोषित र पिडितको जिवनस्तरलाई माथि उकास्ने छ भनिसकेपछि म यस पार्टीसँग प्रभावित भए । कोभिडको समयमा खानपान र स्वास्थयोपचारमा पनि पनि मैले सम्पूर्ण नगरवासीलाई सक्दो मद्दत गरे । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू मार्फत ल्याएको रासनले पनि नपुगेपछि मैले व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गरे ।

साँचिकै भन्ने हो भने त्यसवखत अन्य कुनै राजनीतिक दलहरूले सहयोग नै गरेनन र म राजनीतिबाट टाढै बसेकी थिए । तर पछि जनमत पार्टीको अध्यक्ष सिके राउतको वैज्ञानिक भिजनबाट म प्रभावित भए । वास्तवमा भन्ने हो भने अझैसम्म पनि महिलाहरू पीडित नै छन् । जबसम्म महिलाको विकास हँुदैन, तबसम्म देशको विकास हुन सक्दैन । यो कटु यथार्थ हो । त्यसै अध्यक्ष स्वयंमले तपाईजस्तो राजनितिक चेत भएको र समाजमा केही गर्न सक्ने निडर महिला एउटा नेतृत्वदायी भूमिकामा पुग्नुपर्छ भनेपछि मैले मेरो उम्मेदवारी पेश गरेकी हुँ ।

त्यतिमात्र नभई उहाँले मेयर–उपमेयरमा नै महिला जन प्रतिनिधिको लागि उम्मेदवार बनाउँनु भएको छ । यति गरेपछि उहाँले महिलाको लागि पनि केही विचार गर्नु भएको रहेछ भन्ने विश्वास लागेको छ । वर्तमानमा विगतको जस्तो महिला उपमेयर रहने व्यवस्थामा नै परिवर्तन भएको छ । मेयर–उपमेयर दुवैमा महिला उम्मेदवारको टिकट दिनु पार्टीका अध्यक्षको महिलाप्रतिकै सम्मान हो । यसो गर्दा उहाँले महिलावर्गको उत्थान र प्रोत्सानको लागि केही सोच्नुभएको रहेछ भन्ने प्रष्टै बुझिन्छ ।

चुनाव प्रचार–प्रसारमा निकै नै धेरै रकम खर्चिनुपर्ने बाध्यतालाई तपाईले कसरी लिनुभएको छ ?
जनमत पार्टी, भखरै उदाउँदै गरेको पार्टी हो । त्यसमा पनि हाम्रो अध्यक्षले सम्पूर्ण काम परित्याग गरि मुलधारको राजनितिमा आएको त्यती धेरै लामो समय भएको छैन । त्यसैले खर्चको मामिलामा हामीलाई पार्टीले जति दिएको छ त्यसमा नै हामी लड्छौं । अर्थको मामिलामा हाम्रो प्रष्ट धारणा छ । पार्टीले जतिसम्म गर्न सक्छ हामी त्यतीनै गर्छौ । चुनाव लड्छौँ । मेरो विचारमा राजनिति कुनै लगानी होइन । आज लगानी गर्ने र जितेपछि लगानी उठाउने जुन परिपाटी नेपालको राजनितिमा छ त्यो अन्त्य गरिनुपर्छ । हामीले आफ्नो क्षेत्रको जनतालाई यहि भन्दै आएका छौं । पैसा दिएर भोट किन्नेलाई भोट नदिन पनि हामीले यहाँका स्थानीयलाई आग्रह गर्दै आइरहेका छौँ ।

तपाईलाई त्यहाँ चुनाव लड्न र विजयी बन्न निकै ठुलो चुनौती देखिन्छ नि ?
मधेशमा जनजाती र दलितको अवस्था निकै नै नाजुक छ । यस्ता अत्यन्तै पीडित वर्गलाई हेरिने नजरमा परिर्वतन आवश्यक छ । यसमा खासगरी ठुला पार्टीहरूको ध्यानै पुगेको छैन भन्दा पनि फरक नपर्ला । यस्तोमा डा. सिके राउतले भखरै स्थापना गरेको जनमत पार्टीलाई विश्वास गर्नेहको जमात छ । जनमत पार्टीले यहाँ साना–साना अत्यन्तै सम्वेदनशिल व्यवहारिक समस्याहरूलाई सुझाउने प्रयत्नमा लागेको छ । त्यसले गर्दा पनि यहाँका मतदातामा जनमत पार्टीले एक किसिमको विश्वास दिलाउन सफल छ । त्यसैले पनि हामी अगाडी आउँन सक्छौं भन्ने लागेको छ ।

यस नगरमा तपाईले नै चुनाव जित्छु भन्ने आधारहरू के–के हुन ?
राजविराज नगरपालिका जेठो नगरपालिका हो । जब काठमाडौं महानगरपालिका स्थापित भयो, त्यसवखत यो पनि निकै चर्चित नगरपालिकाको रूपमा स्थापित भयो । तर पनि राज्यको उपेक्षामा यो नगरपालिका पर्याे । राजविराज नगरपालिकामा लामखुट्टेको समस्या ठुलो छ । हुन त यो सुन्दा सामान्य समस्या भएपनि यहाँका जनताको लागि सबैभन्दा ठुलो समस्या हो । लामखुट्टे आउँने अवस्था किन आयो त ? फोहोर मैला व्यवस्थापन नगरेर होइन र ? त्यसैले हामीले आफ्नो घोषणापत्रमा पनि राजविराजमा फोहोरमैलाको समस्यालाई जडै देखि समाधान गर्नेछौँ ।

फोहोर मैलाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने आम जनतालाई विश्वास दिलाउन सक्छौँ । आजको युवामा हुर्नुभयो भने पढेको धेरै हुन्छ तर जागिर हुदैन । जसले गर्दा उनीहरू कुलतमा फसिरहेका छन् । त्यसैले जनतालाई रोजगारीको व्यवस्था गरी यस्ता साना भन्दा पनि साना समस्याहरूलाई हल गर्ने हाम्रो योजना छ । यती मात्र नभई हामीले यहाँका खेलप्रेमी युवाहरूका लागि अन्तराष्ट्रिय स्तरको क्रिकेट रगंशाला पनि बनाउनेछौँ । यस्ता नयाँ योजनाहरूलाई हामीले पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छौँ । यस्तै फरक विषयहरूमा टेकेर हामीले चुनाव जित्ने आधार तयार पारेका छौँ ।

अन्त्यमाः यस क्षेत्रका आम जनतालाई के भन्न चहानुहुन्छ ?
म मेरो नगरवासी जनमानसलाई यहि भन्न चाहान्छु, जनमत पार्टी निर्माणकर्ता वैज्ञानिक डा.सिके राउतसँग नयाँ भिजन छ । अन्य पार्टीका नेताहरू सतहबाट उठेर मुलधारको राजनिति गरिरहेको बेलामा सिके राउत मुलधारको राजनितिमा माथिबाट सतहमा हामीसँग हुनुहुन्छ । यसले राजनितिमा पक्कै पनि आमुल परिर्वतन ल्याउनेवाला छ । त्यसैले तपाईहरू बुझ्नुहोस, म यो नगरको छोरी हुँ । मैले गरेको कामहरू तपाईहरूको अगाडी छन । यसपालि कसैको पैसामा, कसैको कुरामा निडर भई, विना कुनै स्वार्थ जनताको पार्टी जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेकी छु । हरन छापमा आफ्नो अमूल्य भोट दिएर मलाई जनप्रतिनिधिको रूपमा स्वीकार गर्नुहुन्छ भन्ने अपेक्षा गरेकी छु । सबै युवाको उठानको लागि हरन छापलाई मत दिनुहोस् । तपाईहरूका आम मागहरू सबै पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।