अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका मन्त्रीले मानेनन् सरकार छाड्न, माधव नेपालसमक्ष मन्त्रीको सर्तै–सर्त

नेकपा एसका मन्त्रीले मानेनन् सरकार छाड्न, माधव नेपालसमक्ष मन्त्रीको सर्तै–सर्त


काठमाडौं – नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट बाहिरिन आनाकानी गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले समेत यो विषयमा पटक पटक आग्रह गर्दा समेत मन्त्रीहरू विभिन्न वहानामा सरकारमा रहन खोजेको प्रष्ट देखिन्छ ।

अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा बुधबार साँझ भएको छलफलमा मन्त्रीहरूले पार्टीको निर्णय कार्यान्वनयन गर्न तयार भए पनि नयाँ मन्त्री चयनलगायतका विषयमा असहमति जनाएको बताइएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले अध्यक्ष नेपाललाई भेटी ५ बुँदे सर्त राख्नुभएको छ । उहाँहरूले संसदमा बजेट विचाराधीन हुँदा नै मन्त्री फेर्ने हल्ला गराएर पार्टीले अपरिपक्व निर्णय लिएको आरोपसमेत लगाउनुभएको छ ।

सरकारमा आफूहरूको पर्फमेन्स अरु दलको भन्दा उत्कृष्ट भएको जिकिर गर्दै उहाँहरूले मन्त्री फेर्ने हल्ला चलाएर कर्मचारीसामु निरीह बनाउनु पार्टी नेतृत्वको गल्ती भएको भन्दै आलोचना समेत गर्नुभएको थियो ।

छलफलका क्रममा अध्यक्ष नेपाल र मन्त्रीहरूबीच चर्काचर्कीसमेत परेको थियो । मन्त्रीहरूले अध्यक्ष नेपाल र नेता झलनाथ खनालको भूमिकाको आलोचना गर्नुभएको थियो ।

छलफलमा अध्यक्ष नेपालले पार्टीले मन्त्री हेरफेरको निर्णय गरिसकेकोले निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । मन्त्रीहरूले भने नयाँ मन्त्रीको सूची समावेशी नदेखिएको, महिला नपरेको, दाङबाट मात्रै २ जनाको नाम परेको, गैरसांसदलाई पनि सिफासिरस गरिएको लगायतका विषयमा असहमति राख्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गर्ने निर्णयमा पनि उहाँहरूको असुन्तुष्टि थियो ।

बैठकमा सहभागी एक मन्त्रीले पार्टीको निर्णय अपरिपक्व भएको र सम्मानित नेता खनालले मिडियाबाजी गराएर आफूहरूको अपमान गराएको बताउनुभयो । मन्त्रीहरूले राष्ट्रियसभामा विनियोजन विधेयकबारे मन्त्रीका रूपमा जवाफ दिन बाँकी नै रहेकोले बजेट पूर्ण रूपले पारित भएपछि मात्रै निर्णय कार्यान्वयन हुनसक्ने बताउनुभयो ।

चारमन्त्रीले अध्यक्ष नेपालसँग राखेका सर्तहरू–

१. नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने

२. गैरसांसदलाई मन्त्री बनाउन नहुने

३. एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने

४. राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने

५. राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने